बेरोजगारका कारण, परिणाम र यसका असरबारे कुनै परीक्षामा उत्तर नलेखेका नेपाली सायदै कमै होलान् । हाम्रो परिस्थिति नै बडो गज्जबको छ, जहाँ अभाव छ, त्यही अभावबारे लम्बेतान् पाठ पढाइन्छ । यो बौद्धिक स्तरबाट उठेको समाजका नागरिक हौँ हामी । अभाव टार्न गर्नुपर्ने के हो ? कसले के चाहिँ गरेको कारण अभाव टरेको छ, त्यो सिकाइदैँन्, हामी कहाँ ।
वि.सं. २०४६÷०४७ को बहुदलीय व्यवस्था स्थापनार्थ गरिएको जनक्रान्ति सफल पश्चात् नेपालमा शैक्षिक संस्था खुल्ने क्रम बढे । बहुदलीय व्यवस्थासँगै भित्रिएको आर्थिक उदारीकरण यसको प्रमुख सोचनीय विषय हो ।
उदारीकरणको नीति अवलम्बन पश्चात् राज्यले लगानी गरेका ठूलाठूला उद्योगधन्दा धस्त भएका छन् । उदारीकरणको अर्थ नीतिका कारण यसो भएको हो भनेर बुझ्ने यहाँ निकै कम छन् । राजाको पालामा उद्योग खुले, बहुदल आएपछि बन्द हुन पुगे भनेर राप्रपाले समेत रोइला गर्ने गरेको छ । राप्रपाले यसो भनिरहँदा उदारीकरणकै पक्षमा आफूलाई उभ्याएको छ, जुन विरोधाभास छ ।
०४६÷०४७ पश्चात् शैक्षिक संस्थामा वैदेशिक लगानी मात्र भित्रिएन, निजी लगानीमा शैक्षिक संस्थाहरू खुले । राज्यका सामुदायिक विद्यालय गाउँ–गाउँ खुले । विद्यालयको संख्या बढेसँगै हुने खानेले शिक्षा आर्जन गर्न थाले । जसोतसो एसएलसी उत्तीर्ण गर्ने बढे । एसएलसी पास गर्नेहरू त्यो बेला बेरोजगार बस्न पर्दैनथ्यो । शिक्षक, निजमतीको जागिर प्रवेशमा सहज हुन्थ्यो ।
०५२ को नेकपा (माओवादी) को सशस्त्र युद्धले अझ नेपाली समाजमा सरकारी जागिर प्रतिको आकर्षण बढाएको हो । नौ जवान युवाहरू सेना, प्रहरी, सशस्त्रमा भर्ती हुने बढे । मानिसका दिनदिनै फेरिन थाले ।
हातमा नगद आएपछि घरघडेरी, जग्गामा लगानी हाल्ने सिलसिला बढ्यो । त्यो लगानी ०६२÷०६३ को जनआन्दोलन पश्चात् दिन दुई गुणा, रात चौगुनाले मूल्य आकासियो । घरघडेरी, जग्गाको कारण हुने खानेले राम्रो कमाए । महँगोमा जग्गा बिक्री भयो । त्यहीँ जग्गाको रकमले रातारात करोडपति बनेकाहरू जताततै छ्यापछ्याप्ती भेटिन्छन् । यिनै हुन् अहिले देखिएका धनी मान्छेहरू ।
बसिबसी जग्गा बेचेकै कारण धनी हुने भएपछि श्रम किन गर्नु प¥यो ? जग्गाबाटै करोडौँ कमाएपछि अरू के गर्नु पर्छ र ? दलाल नै दलमा, दल नै सत्तामा, सत्ता नै लुटमा चल्यो । घरजग्गाको कारोबारले देशको समृद्धिमा कति योगदान दिन्छ र ? केही राजश्वका दर बढ्ने बाहेक अर्को कुनै फाइदा हुँदैन । अनुत्पादन क्षेत्रको लगानीले न जनताले रोजगार पाउँछन्, न त समृद्ध देश नै बन्ने हो ।
वैदेशिक रोजगारीको बाटोले पनि समाजको अर्थतन्त्र चलायमान गराउन सहयोग गरेको छ । एक घरमा दर्जन छोराछोरी रहेको नेपाली समाजमा एक–दुई भाइ अनिवार्य वैदिक यात्रा निस्किए । जनसङ्ख्या बुद्धि, जन्मान्तरमा बढोत्तरी लगायतको कारण परिवार कुनै न कुनै रूपले आर्थिक रुपमा बलियो बन्न पुग्यो ।
लगत्तै कमाई भएपछि शिक्षा लिने बढे, शिक्षा लिएसँगै मास्टर्सको सर्टिफिकेट हातहातमा । शिक्षा जीवन जगत बुझाइको आधार हुनुपर्ने हो । तर, हाम्रो शिक्षा घोकन्ते भयो । सृजनशीलता केन्द्रित हाम्रो पाठ्यक्रम नै छैन । जसले बढी घोक्न सक्यो, त्यहीँ शिक्षित ! बढो गज्जबको शिक्षा छ हाम्रो ।
लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा साक्षरता दर बढ्यो । यसो हुनु राम्रो हो । साक्षरता दर बढेसँगै देशको अर्थतन्त्रका सूचक बढ्नुपर्ने हो । उद्योगधन्दा, कलकारखाना स्थापना हुनुपर्ने हो । सरकार यसमा चिन्तित भएर काममा लाग्नुपर्ने हो ।
परम्परागत रुपमा चल्दै आएका व्यापार व्यवसायमा फेरबदल हुनुपर्ने हो । निर्वाहमुखी कृषि अर्थतन्त्र फेरिएर व्यावसायिक हुनुपर्ने हो । एक हिसाबले हामीले उत्पादन गरेका बस्तु ‘मेड इन नेपाल’ भनेर संसारको बजारमा जानुपर्ने हो । देशले खोजेको यो थियो । शिक्षित जमातबाट खोजेको यो थियो । उद्यमी बन्न चाहनेहरूले यो वातावरण खोजेका थिए । विडम्बना ! यस्तो भएन । अर्थशास्त्र पढाइयो, पुँजीवाद पढाइयो, उद्योगी कसरी बनाउने भन्ने तर्फ सोचिएन ।
अब शैक्षिक बेरोजगारीले गर्ने के त ? सजिलै पाइने भयो राजनीतिक जागिर । यो जागिर बडो काइदाको छ । दुईचार शब्द बोल्न जान्ने, नेताको चाप्लुसी गर्न जान्ने, दिनभर कोटपाइन्ट लगाएर पार्टी कार्यालय धाउन सक्नेले तुरुन्त पाइहाल्ने जागिर बनेको छ राजनीति ।
हाम्रा पार्टी पनि उद्योगजस्ता बने । टोल टोलमा नेता उत्पादन गर्नैपर्ने । जताततै नेता, सबै पार्टीका टोलपिच्छे नेता । कर्मचारीका नेता, पत्रकारका नेता, प्राध्यापकका नेता । विभिन्न पार्टी, संघ, संगठनबाट नेता बनेकाहरुले काम गर्न परेनन्, केवल भाषण छाट्न जाने भयो ।
विश्व बजारमा इन्टरनेटले एकछत्र राज गर्दै छ । सिंगो विश्वलाई जोड्दै छ । यसको सही प्रयोग गरेर कयौँ देश विकसित बनेका छन् । छिटो, सरल र सहज सेवा प्रवाह इन्टरनेटबाट हुने गरेको छ । समग्रमा इन्टरनेटको प्रयोग गर्ने समृद्धिको दिशातिर उन्मुख छन् ।
हाम्रोमा इन्टरनेटको सबैभन्दा बढी प्रयोग राजनीतिक जागिरेले गरेका छन् । काठमाडौँमा कोठा भाडामा लिएर जीवन चलाएको छ । कुनै उद्यममा जोडिएको छैन, न त कुनै श्रम गर्ने खालको जागिरमा व्यस्त छ । छ त केवल केही थान युट्युबवरसँग अन्तरवार्ता दिने । माइकमा चर्को स्वरले बोल्ने, हल्ला गर्ने, सामाजिक सञ्जालमा समग्रमा आम नागरिकको दिमाग भुट्ने । यही राजनीतिक जागिरेलाई देशकै सर्वेसर्वा मै हुँ भन्ने लागेको छ ।
आज चर्को बोल्ने क्रान्तिकारी, विदेशमा पढ्ने तर त्यहाँ प्रतिस्पर्धा गर्न नसेर फर्किने बौद्धिक, अझ अंग्रेजीमा बोल्यो भने झनै बौद्धिक । त्यसमा भाषण गर्न जानेको भए सुनमा सुगन्ध । चुनावमा मूल्याङ्कनको आधार यहीँ हुने गरेको छ । यो सकिने बाटो नै हो । भनिन्छ, ‘काशी जाने कुतिको बाटो ।’
सचेत नागरिकले सोध्ने गरौँ, नेता हो भने घरमा खुर्सानी रोपेको छ कि छैन ? जागिर के छ ? लगानी के हो ? देशको अर्थतन्त्रमा उसको योगदान के छ ? यी मूल्याङ्कनका जब आधार बनाउन सकिँदैन् मुलुक कहिल्यै उँभो लाग्दैन । श्रममा बाँचेको नेता, नेता हो । दुनियाँ ठगेर, भ्रममा पारेर, सामाजिक सञ्जालमा जभाभावी बोलेर पालिने व्यक्ति नेता हुन कसरी सक्छ ? जब कुनै श्रममा जोडिदैँन्न, कसरी नेता हुन सक्छ ? केबल गाली दिएवापत हुने नेताबाट समृद्ध मुलुकको दिवा सपना देख्न छोडौँ ।
अब के गर्ने ?
अब उत्पादनमा जोडिएको व्यक्ति मात्र नेता बन्न सक्छ । गाउँघरमा बसेर आफू, आफ्नो परिवार र समाजलाई उत्पादनमा जोड्न सक्ने नै वास्तविक नेता हो । यसो भयो भने देशमा समृद्धिका पाइला अगाडि बढ्नेछ । गाउँमा बस्नेलाई माया गरौँ । देशलाई केही न केही आर्थिक रुपमा कर तिर्नेलाई सम्मान गरौँ ।
यसले सरकारको आम्दानी बढाउँछ । केवल उमेरको, छालाको युवा होइन, उसले गर्ने कर्मलाई हेरेर मूल्याङ्कन गरौँ । राजनीतिक रोजगारी दिनका लागि जस्ता पायो त्यस्ता नेतालाई जिताएर जति धेरै सांसद बनाउँछौँ, मेयर बनाउँछौँ, हामी त्यति नै दुःख पाउँछौँ । केवर राजनीतिक जागिर पकाइदिने काम अब बन्द गरौँ ।