Logo
Logo
समाचार टिप्पणी

एमालेको शक्ति प्रर्दशन: छोरी कुटेर बुहारी तर्साउने प्रयास


126
Shares

काठमाडौं । नेपालीमा एउटा उखान छ- छोरी कुटेर बुहारी तर्साउने । सत्ताको बागडोर सम्हालेको पार्टी सडकमा उत्रनु उक्त उखानसँग ठ्याक्कै मेल खान्छ  । 

भनिन्छ, ‘शासकहरु आफू कमजोर बन्दै जाँदा अनेक ‘तिकडम’ गर्छन्’ त्यो ‘तिकडम’लाई राजनीतिक भाषामा शक्ति सञ्चय भन्ने गरिन्छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको बाटो पनि त्यही देखिन्छ ।

पछिल्लो समय नेपालमा राजनीति बिग्रह छ । बिग्रहको फाइदा सरकारको नेतृत्व गर्नेलाई हुन्छ । तर, यदि आलोचना सहने शक्ति नभएमा त्यही बिग्रहले ‘समाप्त’ पनि गर्छ । यतिखेर नेपालको इतिहासकै शक्तिशाली दुई तिहाई नेतृत्वको सरकार छ ।

सायद यो वर्तमान सरकार शक्तिशाली मात्र नभएर इतिहासकै कमजोर सरकार पनि हो । त्यसैले त आफ्नो शक्ति देखाउन सडकमा उत्रिनु परेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबारमार्गमा शक्ति प्रदर्शन गरेको छ ।

सभालाई सम्बोधन गर्ने एमालेका अधिकांश नेताहरू प्रतिपक्षी दलप्रति खनिएका थिए । प्रतिपक्षी दलहरूले सरकारलाई काम गर्न नदिएको उनीहरूको आरोप थियो । तर, दुई तिहारको बहुमतको शक्तिशाली सरकार प्रतिपक्षी दलले काम नदिएको आरोप लगाउनु आफैमा हास्यास्पद कुरा हो । 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रस्टोक्ति दिन समय खर्चिए । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै ओलीले भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई गाली गर्ने ? उल्टे चोर, कोतवालको डाँटे ।’ तर, अर्का सत्तारुढ दल नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङलाई सहकारी ठगी प्रकरणमा सरकारले नै बचाइराखेको हेक्का राखेनन् ।  

आफू नेतृत्वको वर्तमान सरकार र एमालेविरुद्ध कसैले केही गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी छ ।  ‘नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन ।’ 

ओलीले भ्रष्टाचारका प्रकरणहरूमा एमालेतिर औँला नउठाउन चेतावनी पनि दिए । ‘भ्रममा पर्दैनन् जनता, जनताले देखेको छ कसले कति कमाएको छ, कसले कति कमाएको छैन,’ उनले चुनौती दिए, ‘विभिन्न पार्टीका साथीहरूलाई भन्नु चाहन्छु, तपाईँहरू एमालेतिर औँला ठड्याएर बोलिरहनुभएको छ, तपाईँहरू के साँच्चै बहस गर्न सक्नु हुन्छ एमालेसँग ?’

यता, महासचिव पोखरेलले सम्पूर्ण समय सरकार र एमाले प्रतिरक्ष गरेर बिताए । जनासभाको उद्देश्य एमाले नेतृत्वसँग जोडेर प्रचार गरिएको कान्डहरूबारे प्रस्टाउनु रहेको देखियो । यति, ओम्नी, गिरीबन्धु हुँदै कम्बोडियामा लगानीसम्मका प्रचारको अध्यक्ष ओली र महासचिव पोखरेलले प्रष्ट्याउन खोजेका थिए ।

विशेष गरी कम्बोडियाको टेलिकमसँग जोडेर हालसालै भइरहेको प्रचारको खण्डनमा  पोखरेलले समय खर्चिए । ‘त्यहाँ लगानी भएको प्रमाणित गरे, थपेर दोब्बर दान दिने भनिसक्नु (केपी ओलीले) भएको छ,’ महासचिव पोखरेलले भनेका थिए ।

सडकमा किन आयो एमाले ? 
सरकारका काम कारबाहीप्रति प्रतिपक्ष दलबाट चौतर्फी आलोचना र आक्रमण हुन थालेपछि सत्ताको नेतृत्व गरिरहेको एमाले रक्षात्मक अवस्थामा पुगेको छ । 

त्यसो त सरकारले गरिरहेको कामकारबाहीप्रति प्रतिपक्ष दल त के नागरिक समेत सन्तुष्ट छैनन् । असोजमा गएको बाढीपहिरोमा उद्धार र त्यसपछि उद्धार र पीडितको उचित व्यवस्थापनमा चुकेको भन्दै सरकारको चर्को आलोचना भयो । तर सरकारविरुद्ध हुने प्राय सबै आलोचनालाई सरकारको नेतृत्व गरिरहेको एमालेले प्रतिपक्ष दलहरूको षडयन्त्र ठानेको छ । 

त्यसैले पनि प्रतिपक्ष दलहरूको सातो लिनेगरी शक्ति प्रदर्शन गरेको हो । सरकारमै हुँदाहुँदै पनि प्रदर्शनको नाममा एमालेले आफू सरकारमा कि प्रतिपक्षमा भन्ने भुलेको छ ।  काम देखाएर आफूलाई प्रमाणित गर्नुपर्नेमा सभा गरेर आफ्नो प्रतिरक्षा गर्ने सरकारबाट जनताले के आसा राख्ने ? 

प्रतिक्रिया दिनुहोस्