Logo
Logo

प्रधानमन्त्री ओली र एलन मस्कबीच के कुरा भयो ?


630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टेस्ला कम्पनीका मालिक एवं विश्वकै धनाढ्य एलन मस्कसँग भिडिओ संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले एलनसँग आफूले कुरा गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले एलन मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले बताएको छ ।

‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु,’ ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’ मस्कले ओलीलाई धन्यवाद दिएका थिए ।

मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री र मस्कबीच माइक्रोसफ्ट टिम्समार्फत ११ मिनेटजति कुराकानी भएको बताइको छ ।

स्पेश एक्सका कम्पनीका मालिकसमेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाउँदै आएका छन् । मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।

यसअघि करिब एक महिनाअघि प्रधानमन्त्री ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्टारलिंकका प्रतिनिधिले नेपालमा इन्टरनेट विस्तारबारे भिडिओ देखाएका थिए ।

तर, यसबारेमा प्रधानमन्त्री ओलीसँग एलनले सीधा संवाद गरेको भने यो पहिलोपटक हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टारलिंकले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ । तर, स्टारलिंक ल्याउँदा अरु इन्टरनेट सेवा प्रदायकलाई तनाव हुने र आम्दानी तथा रोजगार कम हुने धेरैको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्