Logo
Logo

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु


189
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन् ।

स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

‘शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ’, सुरक्षालाई मध्यनजर गर्दै नाम नबताउने शर्तमा एक वरिष्ठ प्रशासनिक अधिकारीले एएफपीसँग भने ।

एक समय अर्ध स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ ।

कुर्रममा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग भने, ‘स्थानीय समय अनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो ।’

गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए। प्रारम्भिक रिपोर्टअनुसार ३०० भन्दा बढी पसल र १०० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उनले बताए । शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्