काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी शुक्रबारदेखि यूएईमा सुरु हुने यू–१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
एसियन क्रिकेट परिषद् (एसीसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज (आइतबार) हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा हेमन्तसँगै अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापा मगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।
क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
एसिया कप प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालले पहिलो खेल मंसिर १४ गते श्रीलंका र दोस्रो अेल मंसिर १६ गते बंगलादेशसँग खेल्नेछ ।
यस्तै नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । ५० ओभरको खेलमा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् ।