Logo
Logo

‘हनी ट्रयाप’ प्रकरणः एसपीमाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहित मुद्दा दर्ता


819
Shares

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गएको मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको थियो । सीआईबीले एसपी थापाको कागजी बयान मात्र लिएको थियो ।

सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन चार दिन अध्ययन गरेर आइतबार मुद्दा दर्ता गराएको हो । सीआईबीअघि जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गरेको थियो ।

ललितपुर प्रहरीको अनुसन्धानमा उक्त घटनामा पक्राउ परेका इटहरीका ताज इस्लाम र दर्शन पोखरेल समूहले ललितपुरका एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुल गरेको खुलेको थियो । त्यसपछि थप अनुसन्धानका निम्ति ललितपुर प्रहरीले प्रतिवेदन सीआईबीलाई बुझाएको थियो ।

प्रतिवेदन र पक्राउ परेका आरोपितमाथि सीआईबीले छुट्टै अनुसन्धान गरेको थियो । इटहरीकै भीमादेवी थापा र सुस्मा विकसहितको समूहले हनी ट्रयापमा पारेर ती व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने प्रयास गरेको थियो । १० लाख रुपैयाँ भीमादेवीको खातामा ‘ट्रान्सफर’ समेत गरिएको थियो । बाँकी रकमको चेक प्रहरीले बरामद गरेको थियो ।

सोही घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर शाहीको संलग्नता देखिएको थियो । उनीविरुद्ध समेत ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनी पदबाट निलम्बित छिन् । उनी फरार छिन् ।

प्रतिक्रिया दिनुहोस्