काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी संस्थालाई चेक काटेर दिएको भेटिएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सभापति लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई दिएको चेक प्रहरीले फेला पारेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिमा हुँदा लामिछानेले चेकमार्फत सहकारीलाई रकम फिर्ता गरेको अनुसन्धानका क्रममा भेटिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लिइएको बयानका क्रममा आफ्नै हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि लामिछाने स्तब्ध बनेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
ती अधिकृतले भने, ‘बयानका क्रममा हामीले लामिछानेले हस्ताक्षर गरेर सुप्रिम सहकारीलाई भुक्तान गरेको चेक नै देखाएर सोधपुछ गरेका थियौं । आफ्नो हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखेपछि उहाँ स्तब्ध हुनुभयो ।’
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया नेटवर्क प्रालिले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको चेक गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ ।