काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ७ बजेतिर चामल बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने ८ वर्षीय आरम्भ पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।
घाइते आरम्भको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५ः३० बजेतिर मृत्यु भएको डीएसपी महतोले जानकारी दिए ।
अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।