काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै ढकालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ, गोपी हमाल लगायतलाई वैकल्पिक राजनीतिक धार निर्माणका लागि आह्वान गरेका हुन् । नयाँ शिराबाट वैकल्पिक राजनीतिक यात्रा तय गर्नका लागि एउटा खाका तयार पारेको बताउँदै उनले रास्वपाका नेता–कार्यकर्ताहरूलाई समेत यो धार निर्माणमा साथ दिन अनुरोध गरेका छन् ।
‘यसका लागि अहिले रास्वपाका केन्द्रीय समिति सदस्य रहनुभएका मेरा मित्रहरूलाई समेत अनुरोध गर्न चाहन्छु । आउनुहोस् एक बृहत् अभियानमा हामी जुटौँ । सँगसँगै विवेकशील अभियानका साथीहरू, वैकल्पिक राजनीतिको वकालत गरिरहेका अभियन्ताहरू, स्वतन्त्र नागरिक अगुवाहरू, बौद्धिक नागरिक समाजका अगुवाहरू, बौद्धिक नागरिक समाजका सदस्यहरू सबैलाई अब नयाँ शिराबाट वैकल्पिक राजनीतिक यात्रा तय गर्नका लागि एउटा खाका तयार पारेको छु,’ उनले भनेका छन्, ‘त्यसमाथि विमर्श गरेर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु । स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा आशा लाग्दा युवा नेताका रूपमा उदाएका बालेन, हर्क, गोपी, सागरजी लगायतका मित्रहरूलाई समेत म यो अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछु ।’
उनले रास्वपा स्थापना गरेपछि छोटो समयमै गम्भीर गल्ती गरेको समेत स्वीकार गरेका छन् । ‘हामीले संस्थागत राजनीतिभन्दा व्यक्तिवादी राजनीतिलाई प्राथमिकता दिनू, स्थापनाको केही समयमा नै जनतासँग सम्बन्धित मुद्दाहरूभन्दा सत्तालाई केन्द्रमा राखेर पुराना राजनीतिक दलहरूजस्तै आपसमा लड्न पुग्यौँ,’ उनले भनेका छन् ।