Logo
Logo

महिला एनपीएल आयोजना गर्न क्यानलाई प्रधानमन्त्री ओलीको सुझाव


63
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिग क्रिकेटको आयोजना गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सुझाव दिएका छन् ।

धरहरा परिसरमा आज नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलका लागि शुभकामना दिँदै आउँदा दिनमा महिला एनपीएलको आयोजना गर्न पनि क्यानका पदाधिकारीसँग आग्रह गरेका हुन् ।

उनले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए । प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताए ।

उनले एनपीएलको चर्चा स्वदेशमा मात्र नभई विदेशमा समेत भइरहेको भन्दै एनपीएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने मन्त्री चौधरीको भनाइ छ ।

यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एनपीएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताए ।

आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुने एनपीएलको ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा समावेश गरिएको छ ।

एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी खाठ वटा टोली छन् ।

प्रतिक्रिया दिनुहोस्