Logo
Logo

इजरायल र हिज्बुल्लाहबीच युद्धविराम


252
Shares

काठमाडौं । इजरायल र हिज्बुल्लाहबीच युद्धविराम गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान चार बजेबाट युद्धविराम लागू भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए, जसलाई फ्रान्सले समेत समर्थन गरेको छ । युद्धविराम सम्झौता कार्यान्वयन हुन केही समयअघि मात्र बेइरुतमा इजरायली हवाई हमला भएको थियो । बीबीसीको एक रिपोर्ट अनुसार युद्धविराम सुरु हुनुभन्दा केही घण्टाअघि दुवै तर्फबाट सीमा पार हमलाहरू जारी रहेका थिए ।

एक वर्षदेखि हिज्बुल्लाहले गरेका रकेट हमलाको जबाफमा झन्डै दुई महिनाअघि इजरायली फौजले लेबननमा स्थल अतिक्रमण सुरु गरेको थियो । लेबननमा हुने युद्धविरामले गाजामा जारी इजरायलको युद्धलाई प्रत्यक्ष प्रभाव नपार्ने बताइएको छ ।

युद्धविरामका सर्त अनुसार ६० दिनभित्र इजरायली फौज लेबननबाट फिर्ता हुनेछ भने हिज्बुल्लाहका लडाकुहरुलाई सोही अवधिभित्र देशको दक्षिणमा हजारौँको संख्यामा लेबननी सेनाले विस्थापित गर्नेछन् ।

युद्धविराम सम्झौतासँगै अमेरिकी राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताएका छन् ।

हिज्बुल्लाहका ठाउँमा अब लेबननको राष्ट्रिय सेना र लेबननस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा फौज (यूनिफिल) खटिएर त्यहाँको रिक्तता पूरा गर्नेछन् । पाँच देशहरूको समिति र सम्झौता गराउने कामको अमेरिकाले निगरानी गर्ने सहमति भएको समाचारमा उल्लेख छ ।

‘तर लेबननी सेना सधैँ हिज्बुल्लाहभन्दा निकै कमजोर छ र यूनिफिल हिज्बुल्लाहलाई इजरेलतर्फ रकेट प्रहार गर्न दिन बिफल भएको छ’ बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनर भनेका छन् । यस युद्धविरामसँगै अब ध्यान गाजातर्फ मोडिएको छ, तर, पनि छिटै युद्धविराम हुने बाटोतर्फ डो¥याउने प्यालेस्टिनीहरूको आशा छ ।

तर, अन्यले भने यसले हमासविरुद्धको हमलालाई बढाउन इजराली सेनालाई सहज पारिदिएको र त्यसले थप सर्वसाधारणको हताहत बढाउने आशंका गरेका छन् ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्