Logo
Logo

यी पुराना अभिनेत्रीहरुको कम्ब्याक


441
Shares

काठमाडौं । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे ।

चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए । एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्नेक्रम बढेपछि उनी चलचित्रबाट टाढा भएका थिए । उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाइरहेको छ ।

गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किइन् । उनले केही समय अगाडिको योजना भएतापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताइन् ।

‘पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । अहिले काममा फर्किएकी छु । यसपटक काम गर्दा पहिलो चलचित्रझैँ अनुभव गरेँ । छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन’, अभिनेत्री थापाले भनिन्, ‘कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ । पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ । अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु ।’

गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छन् । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उहाँले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् । यसले गर्दा आगामी चलचित्रमा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ । यही चलचित्रमार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छन् ।

‘विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो । त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो । तर पुनः फिल्म कर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु’, अभिनेत्री घिमिरेले भनिन् । अभिनेत्री घिमिरेझैँ पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्