Logo
Logo

सानी छोरीको मनमा संसारको चिन्ता


315
Shares

सात वर्षकी छोरीले मलाई लेख्न प्रेरणा दिइरहेकी थिई– ‘एउटा किताब छिटो प्रकाशन गर्नु मामु… …चिनियाँ भाषामा पनि लेख्नु, म मद्दत गर्छु ।’ ऊ सानैमा चिनियाँ स्कूलमा पढेकी भएर त्यो बेला उसको भाषा चिनियाँ बच्चाहरूकै जस्तो थियो ।

उसले बोलको सुन्दा, लेखेको पढ्दा चिनियाँहरू समेत छक्क पर्थे । म पनि चिनियाँ भाषा साहित्य पढ्दैथिएँ । तर, एक त उमेर गइसकेपछि पढ्दै थिएँ, त्यहाँमाथि साँच्चै पूर्णकालीन विद्यार्थी भएर डुबेर पढ्न पनि पाएकी थिइनँ । त्यसैले छोरीको जति राम्रो मेरो भाषा हुने कुरा भएन । छोरी यो बुझ्थी । उसलाई यति आत्मविश्वास थियो कि मामुले चिनियाँ भाषामा लेख्ने हो भने, हो न हो आँफै सम्पादन गरिदिन्छु भने जस्तै गर्थी ।

उसमा अरु बच्चाहरूमा भन्दा बढी कौतुहल भएजस्तो लाग्थ्यो । त्यतिबेलादेखि नै देश विदेशको कुरा गर्न मनपराउँथी । राजनीति, भूगोल, इतिहास, दर्शन … अनेक विधासँग सम्बन्धित प्रश्न हुन्थे उसका । उसका सबै प्रश्नको उत्तर मसँग हुँदैन थियो । मेरो आफ्नो बचपनलाई सम्झँदा उसको उमेरमा त्यति तीक्ष्णता विकास भइसकेको थिएन ।

म हुर्केको वातावरण पनि फरक थियो । सानैदेखि उसलाई ज्ञानको बोझ पो भयो कि, चार वर्षको बेलादेखि उसले ठूलो मान्छेको होस्टेलमा बस्नु प¥यो, कहिले हामीभन्दा टाढा आवासीय किन्डरगार्टेनमा, कहिले भीडको बस चढेर स्कूल जानुपर्ने आदि कारणले उसको बालापन पनि खोसियो कि जस्तो पनि लाग्छ ।

बच्चालाई दिनुपर्ने जति समय र ध्यान दिन सकेका थिएनौँ । तर, हामीले देशको चिन्ता लिईरहँदा उसलाई पनि देशप्रति चिन्ता जाग्दो रहेछ । ‘ठुलो भएपछि देशको निम्ति राम्रो काम गर्छु’ भन्थी ।

एकपल्ट ओलिम्पिकका बेला टिभी हेरिरहेका थियौँ । नेपालले कुनै खेलमा पनि जित्न नसकेको कुरामा उसले साह्रै नरमाइलो मानी । ‘हाम्रो नेपाल किन जुन कुरामा पनि पछाडि परेको बुवा ? … नेपाल किन गरीब भएको ? …’ यस्ता उमेरलाई नसुहाउने प्रश्न हुन्थे उसका ।

छोरीका कुराले कहिले गर्व लाग्थ्यो । कहिले भने अबदेखि बच्चालाई गम्भिर कुरा नसुनाउँ जस्तो लाग्थ्यो । सकेसम्म पढाईमा नै ध्यान देओस्, खेल्ने उमेर हो खेल्नमै रमाओस् भन्ने लाग्थ्यो । ऊ भने ठूलो उमेरका मान्छेहरूको संगतले गर्दा हो कि, उमेरभन्दा माथिकै कुरा गर्थी ।

स्कूलको पढाइमा पनि राम्रो भनेर उसकी क्लासटिचरले हामीलाई सुनाउँथिन् । विवेक, बुध्दि, प्रतिभा सबैमा ऊ अब्बल थिई ।

त्यतिबेला घरबाट ससुरा बुवाले बच्चालाई नेपाली पढाउन ढिलो हुन्छ, घरैमा पठाएर नेपाली स्कूलमा पढाउ भनेर लगातार चिठीमा लेखिराख्नु हुन्थ्यो । अप्रत्यक्ष रूपमा बुवाको चिन्ता बच्चाको भन्दा पनि छोरा नै विदेशबाट पढाई सकेपछि र कामको निम्ति देश नै नफर्किएला कि भन्ने पनि थियो होला ।

त्यो बेला नै विदेश जाने नेपालीहरू देश नफर्कने क्रम अलिअलि शुरु भैसकेको थियो । छोरीलाई पहिले देश फर्काएपछि त करैले पनि छोराबुहारी पढाई सकिने बित्तिकै देश फर्किहाल्छन् भन्ने पनि लागेको होला ।

तर, बुवाको कुरामा सत्यता पनि थियो– नेपाली राम्रोसँग सिक्न पाइरहेकी थिइन । एकातिर साथीहरू देश नफर्क भन्थे । अर्कोतिर घरबाट पढाई सकिने बित्तिकै दायाँबायाँ कतै नहेरी देश फर्क भन्ने आशयको चिट्टी आउँथ्यो । अझ त्यति मात्र नभएर बुवाले ‘तिमीहरू घरमा आउँदा तिमीहरूको निम्ति भनेर यो बुढेसकालमा नयाँ घर पनि बनाउँदैछु…’ भनेर पनि लोभ्याउनु हुन्थ्यो ।

हाम्रो मन त विदेशमा हराउने छँदै थिएन । देश त फर्किनु नै थियो । जे जति गर्ने हो देशकै निम्ति भन्ने स्पष्ट नै थियो । झन् छोरीमा समेत त्यहीबेलादेखि नै देशभक्तिको भावना पलाई सकेको थियो ।

मेरो पढाई सकिने बेला भयो । पढाई सकिएपछि मेरो छात्रवृत्ति पनि रोकिन्थ्यो । छोटो समयको निम्ति के काम खोज्ने ? चीन अहिलेजस्तो खुला भइसकेको पनि थिएन । बुढाको अस्पताल जाने काम सकिए पनि थेसिसका कामहरू भने बाँकी नै थियो । जे गर्न पनि पैसाकै चिन्ता !

एकपल्ट जाडोको समय थियो । मैले भर्खरै मात्र युनिभर्सिटीबाट पाउने गरेको छात्रवृत्तिको दुईसय युआन् थापेकी थिएँ । त्यो पैसालाई बाक्लो ज्याकेटको खल्तीमा राखेर एउटा चिट्ठी पठाउन हुलाक पुगेँ ।

चिट्ठी रजिस्टर गर्न उभिएका बेला केही मान्छेहरू काउन्टरको अगाडि ठेलमठेल गर्दै थिए । मेरो पालो आयो, मपनि त्यहिँ उभिएँ, चिठी रजिस्टर गर्न दिएँ । एकजना अग्लो ओभरकोट लगाएको मान्छे मसँग टाँसिन आइपुग्यो । मेरो मन एकछिन् चिसो भयो ।

चिठी रजिस्टर गरिसकेपछि खल्ती छाम्दा थाहा पाएँ पकेट मारिसकेको रहेछ । त्यही पैसाले महिना चलाउनु थियो । बुढाको पनि मेरो भन्दा धेरै छात्रवृत्ति थिएन–तीनसय युआन् मात्र थियो । बच्चाको स्कूल फि तिर्नु छ, त्यही जम्मा दुईजनाको पैसा जोडेर सबै काम गर्नु थियो । लेखेर केही पैसा थपिएको थियो, नत्र हामीलाई पैसा पु¥याउनै गाह्रो हुन्थ्यो ।

सरोजलाई यो कुरा सुनाएँ । उनको प्रतिक्रिया सामान्य थियो । ‘हरायो त हरायो ! के गर्ने ? पैसा थियो र त हरायो !’ भने । उनले यो कुरालाई गम्भिर रुपमा लिएन । मेरो मनमा भने चिन्ताले ठाउँ लियो । एकजना नेपाली साथीको ठाउँ नजिक भएको र आफ्नो मन पनि बेचैन भएकोले साथीकोमा पुगेँ । पैसा माग्न त गएकी थिइनँ । साथी भएकोले घटना सुनाएकी मात्र थिएँ । तर, उनीले हत्त र पत्त आफूसँग पैसा नभएको कुरा सुनाइन् । मन अझै नमज्जा भयो ।

पछि छोरीले पनि पैसा हराएको थाहा पाई । ऊ चिन्तित देखिई । ‘के पैसाले स्कूल फि तिर्ने होला ? अब धेरै खर्च नगर्ने है मामु’ भनेर मलाई नै सल्लाह दिई । उसका विचार त्यहीबेला गहिरा र गम्भिर हुन्थे ।

टिभीमा आएको एउटा कार्टुनमा बदमाशहरूले पृथ्वी ध्वस्त पार्न खोजेको प्रसंग थियो । फिल्म हेरेपछि निकै गम्भीर भएर उसले सोधेकी थिइ – ‘मामु, तिनीहरूले हाम्रो पृथ्वीलाई खत्तम पार्छन् ?’ उसको यही प्रश्नबारे लेखिएको मेरो एउटा लेख ‘विल दे डिस्ट्रोय् आवर वल्र्ड्, मामु ?’ युनिसेफको पत्रिकामा छापियो ।

ऊ त्यतिबेलादेखि नै देशमात्र होइन, विश्वकै बारेमा समेत सोँच्ने भैसकेकी रहिछ । पछि त्यो लेख युनिसेफबाटै न्यूयोर्कको बच्चाहरूको बारेमा भएको कन्फरेन्समा पुगेछ र चर्चित पनि भएछ ।

अहिले परिपक्व, चिन्तनशील, अनुसन्धाता बनेकी मेरी छोरीका मनमा त्योबेलाका कठिनाइले कस्ता डोब छाडेका छन् कुन्नी ! कति दुख्छन् होला ती डोबहरू ?

प्रतिक्रिया दिनुहोस्