Logo
Logo

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच आज औपचारिक वार्ता हुँदै


189
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चिनियाँ समकक्षी वाङ यीबिच आज औपचारिक वार्ता हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीका लागि बिहीबार सिचुआनको राजधानी छेन्दु पुगेकी राणा र समकक्षी वाङबीच नेपाल–चीन सम्बन्धका सबै पक्षबारे औपचारिक वार्ता हुन लागेको हो  ।

आज अपराह्न दुई परराष्ट्रमन्त्रीको भेटवार्तामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले तयार गरेको बेग्लै प्रस्तावबारे छलफल हुनेछ । यद्यपि, यसबारे परराष्ट्रले औपचारिक रूपमा केही भनेको छैन ।

परराष्ट्रमन्त्री राणाको सम्मानमा चिनियाँ समकक्षीले रात्रिभोज आयोजना गर्दै छन् । परराष्ट्रमन्त्री राणाले नेपाल र चीनबिच ०७१ वैशाख २९ मा हस्ताक्षर भएको बिआरआई सम्झौतामा प्रतिबद्धता जनाउँनेछिन् र उनले अनुदानमा आधारित सहकार्यमा जोड दिनेछिन । चीन सरकारका तर्फबाट अहिलेसम्म अनुदान घोषणा भएका करिब एक खर्ब रुपैयाँ कार्यान्वयनमा परराष्ट्रमन्त्रीले जोड दिने तयारी छ ।

दुई परराष्ट्रमन्त्रीबिच स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति, हिल्सा–सिमीकोट सडकको स्तरोन्नतिसम्बन्धी सम्झौता कार्यान्वयन, कोरला नाकामा सुक्खा बन्दरगाह सञ्चालन, तातोपानी नाकामा यात्रुहरूको आवागमन पुनः थाल्नुपर्नेलगायतका एजेन्डामा समकक्षीसँग छलफल हुनेछ ।

त्यसैगरी, टोखा–छहरे सुरुङमार्ग, पोखरा र काठमाडौंबाट तिब्बतको ल्हासालगायतका सहरमा उडान, नेपाल–चीन ऊर्जासम्बन्धी सहकार्य, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारणलाइन आयोजना, नेपाल–चीन मैत्री औद्योगिक पार्क, सीमा व्यवस्थापन प्रणाली, बाउन्ड्री प्रोटोकल र नेपालका सीमाक्षेत्रमा चिनियाँ सहयोग अभिवृद्धिलगायतका विषय पनि उनीहरूबिच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्