भनिन्छ– नमरी स्वर्ग देखिँदैन ! तर, हामी स्वर्गमै छौँ ! नमरी स्वर्गमा रमाइरहेका छौँ । तर, स्वर्ग खोज्नु जान्नुपर्छ । खोज्ने जाँगर चलाउनुपर्छ । खासमा भन्नुपर्दा धर्ती नै हो, स्वर्ग । यहाँ धेरै छन् स्वर्गहरू । त्यसमध्ये एक हो– शैलुङ !
शैलुङको बयान नसुन्ने सायदै होलान् । मैले पनि पहिलादेखि नै सुन्दै आएको हुँ । सामाजिक सञ्जालमा त्यहाँको सुन्दर फोटो-भिडियो देखेको थिएँ । जानेहरूले भनेको सुनेको थिए– शैलुङ धर्तीको स्वर्ग हो ! त्यसबेला लाग्थ्यो– म पनि अवश्य एकदिन जानेछु !
शैलुङ जाने चर्चा धेरै भए । योजनाहरू पनि बने । तर, मौका मिलेको थिएन । अन्ततः गत कात्तिकमा त्यो मौका जु¥यो । देवी दिदीको योजनामा यशोदा मिस र किशोर कुँवरसँगै गत कार्तिक १० गते अविश्वसनिय रुपमा पुग्यौँ, शैलुङ ।
कार्तिक नौ गते दिउँसो तीन बेजसम्म पनि शैलुङ जाने-नजाने निश्चित थिएन । साढे तीन बजेतिर जाने निधो भयो । त्यसबेलासम्म अफिसमै थिएँ । डिउटी बाँकी नै थियो । काम धेरै थिए । त्यसको तीन दिनपछि अर्थात् कार्तिक १२ जन्मभूमि भोजपुर जाँदै थिएँ । घर लाने सरसामान केही किनेको थिइनँ । १० गते शनिबार परेकाले त्यही दिन सामान किन्ने योजनामा थिएँ ।
तर, शैलुङ जाने कुराले मन उडिहाल्यो । दमित आकांक्षा जुरमुरायो । जाने सहमति जनाएँ । सम्पूर्ण काम आइतबारको लागि थाती राखेर शैलुङ हुइँकियौँ । धुलिखेल नपुग्दै अँध्यारो भयो । खाजा खाएर अरनिको राजमार्गतर्फ लाग्यौँ । लक्ष्य मुडे पुगेर बास बस्ने थियो ।
सडक विस्तारको कामले धुलिखेल–खावा सडक ध्वस्त थियो । कच्ची बाटो । त्यसमाथि हिलैहिलो । मेरो बाइकको पछाडि देवी दिदी बस्नु भएको थियो । हिलोमा बाइक लरबरायो । दिदीको खुट्टा ठोक्कियो ।
पहिला पनि स्कुटरबाट लड्दा दिदीको खुट्टा भाँचिएको थियो । त्यो निको भइसकेको थिएन । फेरि खुट्टै ठोकिँदा केही भयो कि भन्ने डर भयो । बाइक रोकेर हे¥यौँ । धन्न केही भएन छ । त्यसपछि फेरि हुइँकियौँ !
पहिलो ‘लङ ड्राइभ’ । नयाँ बाटो । कच्ची रोड । त्यसमा पनि रातको समय । ‘स्पिड’ कुदाउने कुरै भएन । बिस्तारै गयौँ । रातको नौ बजेतिर मुडे पुग्यौँ । सुनसान थियो, मुडे । बास नै नपाइएला कि भन्ने डर भयो । तर, ईश्वरले पनि ‘तँ चित्ता म पु¥याइँदिन्छु भन्छ’ रे । त्यसैले होला बास पनि सजिलै मिल्यो ।
शनिबार बिहानै मुडेदेखि शैलुङतर्फ लाग्यौँ । जम्मा २२ कि.मीको यात्रा थियो । तर, १० कि.मी. बाटो निकै खराब । उकालोमा मोड्दा दिदी बाइकबाट फेरि लड्नुभयो । चोटपटक भने लागेन । बिहान आठ बजेतिर कालापानी पुग्यौँ । त्यहाँसम्म सवारी साधन जाँदो रैछ ।
सय थुम्काहरूको संगम । छिनमै घमाइलो । छिनमै ढपक्कै हुस्सु । सिर्सिरे बतास ।थुम्कापछि थुम्का, थुम्कापछि थुम्का । कस्तो भव्य थुम्काथुम्की ! सिपालु कलाकारले सीप लगाएर सुमसुम्याएर राखेजस्ता । सारा दुःख बिर्साउने ! जति हेरे पनि आँखा नथाक्ने !
कालापानीमा खाजा खायौँ । त्यसपछि चढ्यौँ ‘मिनी ग्रेटवाल’ । त्यहाँ भेटियो शैलुङ जानेको ताती । सबै फोटो/भिडियो खिच्दै रमाइरहेका थिए । कालापानीका स्थानीयले शैलुङ पुग्न एक घण्टा लाग्ने बताएका थिए । तर, हामीलाई झन्डै दुई घण्टा लाग्यो । कारण थियो– फोटो/भिडियो ।
दोलखा र रामेछाप दुवै जिल्लाको शिर हो, शैलुङ । पानीढोलोको आधारमा एकातिर पानी बग्ने भाग दोलखा र अर्काेतिर पानी बग्ने जति रामेछाप रे ! शैलुङलाई लिएर यी दुई जिल्लाबीच विवाद पनि छ । दुवै जिल्लाले शैलुङ आ–आफ्नो दाबी गर्छन् । जसले गर्दा यसको प्रचारप्रसार र विकासमा ध्यान जान सकेको छैन ।
शैलुङ पुगेपछि थाहा भयो– शैलुङलाई दोलखा र रामेछाप दुवैले किन आ–आफ्नो दाबी गर्छन् भन्ने ! यति सुन्दर ठाउँको लोभ कसलाई हुँदैन र ! सबैलाई आफ्नै बनाउन भन्ने लाग्छ ! मलाई पनि आफ्नै दाबी गरौंझैँ लाग्यो ।
शैलुङ टेक्दा मनमा लाग्यो– ‘प्रकृतिको उन्मत्त बैँस प्रदर्शित हुने कुनै दिव्य क्रीडास्थलमा पो छु कि ?’ सय थुम्काहरूको संगम । बादलमाथिको पहाड । महाभारत पर्वत श्रृंखलाको अग्लो ठाउँ । छिनमै घाम, छिनमै बादल । कहिले कुहिरो र सिर्सिरे बतास । कस्तो भव्य थुम्काथुम्की ! सिपालु कलाकारले सीप लगाएर सुमसुम्याएर राखेजस्ता । सारा दुःख बिर्साउने ! जति हेरे पनि आँखा नथाक्ने !
हामीजस्तै हतारिँदै थिए, हुलकाहुल बाँधेर आएका अरूहरू पनि । वल्लो र पल्लो थुम्काहरूमा तस्बिर÷भिडियो खिच्न मस्त थिए । त्यहाँ आँखाले जुन दृश्य ‘क्याप्चर’ गरेको छ । त्यो, हृदयमा अमिट छाप बनेको छ । मोबाइलमा खिचेको फोटो÷भिडियो ‘डिलिट’ होला । तर, स्मृतिको ‘मेमोरी’बाट कहिल्यै मेटिँदैन !
छिनमै घमाइलो । छिनमै ढपक्कै हुस्सु । थुम्कापछि थुम्का, थुम्कापछि थुम्का । टुप्पो नजिकैको थुम्कोमा बुद्धको पाइला । त्यही छेउमा पृथ्वीको नाइटो ! पुगेपछि फर्कनै मन नलाग्ने । तर, यहाँ न बास छ, न त गाँस नै । नफर्की धर पाइँदैन !
शैलुङमा ऋषिहरुले तपस्या गरेको ठाउँमा थुम्का उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ, अर्को किम्बदन्ती पनि छ । प्रथम बुद्धगुरु पद्मसम्भव स्वर्गबाट झरेर यहाँ रहेकाले शैलुङ नाम रहेको रे ! त्यस्तै पाँचौँ बुद्धले यही तपस्या गरेको भन्ने विश्वास र भृकुटी यही बाटो हुँदै तिब्बत गएको कथा पनि रहेछ । त्यही भएर यो ठाउँ हिन्दूहरूका लागि मात्रै नभई बौद्ध धर्मावलम्बीहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।
तर, जब, शैलुङको शिरमा पुगेँ । मन केही खिन्न भयो । यति राम्रो शैलुङको टुप्पोमा विरक्त लाग्ने कंक्रिटको संरचना । सबैले भन्ने गरेका छन्– हलुवामा बालुवा । सायद, त्यो भनेको यही होला !
शैलुङ आफैमा एउटा उचाइको लेक हो । समुन्द्री सतहबाट ३ हजार १ सय ४६ मिटरमा छ । त्यसमाथि पनि भ्यू टावर । लाजको पसारो ! यो, प्राकृतिक उचाईमा लागेको कालो धब्बा हो । जसले शैलुङको सुन्दरतालाई गिज्याउन ठडिएझैँ लाग्छ ! काठमाडौं फर्किने हतारोले महादेव गुफा भने जान पाएनौँ ।
शैलुङको प्रवद्र्धधन गर्न त्यहाँका स्थानीय र सरोकारवाला लागिपरेका छन् । घुम्नका लागि त्यहाँ अथाह ठाउँ छ । सांस्कृतिक कथाहरू पनि छन् । ती सबैलाई जोडेर पर्यटक भित्र्याउन कठिन छैन ।
डाँडाहरू सुख्खा देखिन्थे । सामाजिक सञ्जालमा देखिएभन्दा भिन्न । तर, मौसमसँगै बदलिनु प्रकृतिको सुन्दरता हो । साउन-भदौमा हरेक थुम्काभरी फूल फूल्छन् रे ! पुस-माघमा हिउँले सबै थुम्का ढाक्छन् रे ! त्यतिखेर सैलुङको सुन्दरता कस्तो होला ? चैत-वैशाखमा गुराँस र चिमालले ढपक्कै ढाकिने वन पार गरेर जाँदा शैलुङ कति सजिएला ?
हरियाली हुँदा चौँरी, भेडा, बाख्राहरू चराउँछन् रे ! कुन्ती मोक्तानले गएको चर्चित गीत ‘माथि–माथि सैलुङेमा चौँरी डुलाउने लाई..’ पनि यही ठाउँलाई लिएर गाइएको हो । यसरी प्रत्येक सिजनमा रूप र शैली फेरिरहने हुँदा शैलुङ यात्रा एकपटकमा पूरा हुन नसक्ने रहेछ । मौका मिले फेरि अर्को सिजनमा पक्कै जानेछु !