रुपन्देही । लुम्बिनी प्रदेशमा स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त रहेका ५ पदमा उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध माओवादीले जितेको छ । आज ५ स्थानमा मतदान हुँदैछ ।
यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि आज उपनिर्वाचन हुँदैछ । २ नम्बर वडाध्यक्ष पदमा उपनिर्वाचनको तयारी भएपनि दुई उम्मेदारमध्ये एकले फिर्ता लिएपछि निर्विरोध भएको छ ।
गत भाद्र २८ गते काठमाडौंदेखि गृह जिल्ला रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङको भङखानीमा रा १ झ २०० नम्बर प्लेटको सरकारी गाडी दुर्घटना हुँदा पालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
गाउँपालिकाका १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ । जसमा ५ हजार ६७१ पुरुष र ५ हजार ५०९ महिला गरी ११ हजार १८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए ।
निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाका लागि प्राथमिकता प्रदान गर्न विशेष व्यवस्था मिलाइएको सुबेदीले बताए ।
उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि प्रमुख राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
यस्तै, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ को अध्यक्ष मोहन घिमिरेको निधनका कारण यहाँ उपनिर्वाचन हुँदैछ । अहिले यहाँ कांग्रेसबाट आनन्द श्रेष्ठ उम्मेदवार बनेका छन् । एमालेले दलबहादुर थापा र माओवादीले दुर्गाबहादुर विकलाई वडाध्यक्ष उम्मेदवार बनाएका छन् । यहाँ रास्वपा, राप्रपाका पनि उम्मेदार रहेपनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने आंकलन गरिएको छ । यस वडामा ४ हजार ५१ जना मतदाता छन् । निर्वाचनका लागि यसपटक तीन वटा मतदानस्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।
यस्तै, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले बेगम पुनलाई नै मैदानमा उतारेको छ । माओवादीबाट नरेशजङ्ग शाही उम्मेदवार बनेका छन् ।
यसैगरी नेपाली कांग्रेसले जितेको अर्को ठाउँ बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ हो । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । यहाँ कांग्रेसले अनिल थारुलाई उम्मेदवार बनाएको छ । एमालेले विष्णुप्रसाद देवकोटा र माओवादीले शेरबहादुर थारुलाई मैदानमा उतारेको छ । यहाँ नागरिक उन्मुक्ति, रास्वपा र राप्रपाका पनि बलिया उम्मेवार रहेका छन् । कुल ३ हजार ५०० मतदाता रहेको यस वडामा २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको छ ।
यस्तै,कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा कांग्रेसले दिनेशकुमार यादवलाई उम्मेदवार बनाएको छ । माओवादीले रफिक महोम्मद खान मुसलमानलाई र एमालेले मोजीव खाँलाई नै फेरि उम्मेदवार बनाएको छ । निर्वाचनमा ३० कर्मचारी र ६ स्वयंसेवक खटाइएका छन् । २०० बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
मतदान सामग्री, मतपत्र र मतपेटिका मतदान केन्द्र पुगिसकेको सहायक मतदान अधिकृत अम्मर ओलीले बताए । आधारभूत विद्यालय अन्राठमा क र ख गरी दुई केन्द्र छन् ।
यस्तै पूर्ण केशर मावि बगदी र बिकुली पश्चिम डिहको मदर्सामा पनि क र ख केन्द्र छन् । निर्वाचनमा वडाध्यक्षका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । कुल ४ हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा ढुक्कसँग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रजिअ विश्वप्रकाश अर्यालले बताए ।