Logo
Logo

सई यादवलाई ठक्कर दिने गाडी मदिरा तस्कर बिष्णुको रहेको स्थानीयको दाबी


7k
Shares

सिरहा । मदिरा बोकेको चारचक्के सवारी साधन स्कोरपीयोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीको सईको मृत्यु भएको छ ।
मदिरा बोकेर भारततर्फ गइरहेको स्करपियोलाई गस्तिमा रहेका सुरक्षाफौजले चेकजाँचका लागि रोक्न खोज्दा नरोकी भाग्ने प्रयास गर्दा सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएको थियो ।

सिरहा बरियारपट्टि गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा ईलाकामा बिओपी बडहरीबाट सप्रनानि लक्ष्मणप्रसाद यादवको कमाण्डमा खटिएको ५ जनाको मोटरसाईकल गस्ती टोली र प्रहरी चौकी कच्नारीबाट खटिएको प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ति टोलीले चेकजाच गर्ने क्रममा नम्बर प्लेट नखुलेको मदिरा बोकेको स्कारपियो गाडीले सप्रनानि लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिई भारततर्फ भागेको सशस्त्र प्रहरी बलका मधेश प्रदेश इञ्चार्ज डिआईजी कालिदास धौवजीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाईते भएका सई यादवलाई उपचारका लागि एम्बुलेन्समा राखी प्रादेशिक अस्पताल लहानमा लगिएको थियो । तर, ४ बजे नै चिकित्सकद्वारा मृत घोषणा गरिएको थियो । घटनास्थल दशगजाबाट ३ सयदेखी ४ सय मिटर नेपालतर्फ रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्कर दिएको बताए । स्करपियो मदिरा बोकेर आइरहेको सूचनाका आधारमा संयुक्त सुरक्षाफौजले रोकेर चेकजाँचको गर्न खोजेको थियो ।

मदिरा बोकेर भारततर्फ गइरहेको उक्त स्करपियो चर्चित मदिरा तस्कर बिष्णु भगतको रहेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयका अनुसार ठाडीदेखि बरियारपटीसम्मको क्षेत्रका नाका प्रयोग गर्दै बिष्णुले बिगत लामो समयदेखि मदिरा तस्करी गर्दै आएका छन् । भनिन्छ, माथिदेखि तलसम्मै सेटिङ गरेर खुल्लाम खुल्ला मदिरा तस्करी गरिरहेका बिष्णुलाई यस घटनामा नियन्त्रणमा लिएर अनुशन्धान गर्ने तागत प्रहरी प्रशासनको छैन ।

बिष्णुको मदिरा तस्करीको प्रमुख नाका नबरजपुरस्थित सशस्त्र प्रहरी बलको क्षेत्रमा पर्ने कुसुण्डी हो । यस नाकामा बिष्णुको मदिरा कहिल्यै पक्राउ पर्दैन । नबराजपुर बिओपीका इञ्चार्न सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक रोशन थापा हुन् । हाल थापा पनि बिदामा रहेको बुझिएको छ । अहिले घटनास्थल कचनारी तनावग्रस्त बनेको छ । मृतक सईका आफन्त र स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्