काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ ।
खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ । दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडीमा पर्छन् । कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ भारतबाट नेपाल आइपुगेका थिए । नेपाल आइपुगेपछि उनले नेपालका स्थानीय खेलाडीसँग खेल्न आफू उत्साहित भएको बताएका थिए ।
धवन भारतका चर्चित ओपनिङ ब्याटर हुन् । अघिल्लो वर्षसम्म आइपिएल खेलेका उनले गत वर्ष नै घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए । संन्यास लिएका भारतीय खेलाडीले मात्र अर्को देशको क्रिकेट खेल्न पाइने भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्णयअनुसार धवनले नेपालमा खेल्न लागेका हुन् ।
३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी–२० तीनै फर्म्याटका खेल खेलेका छन् । उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन् ।
न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन् । उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए । जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए ।
३४ वर्षीय निशमले पनि न्युजिल्यान्डका लागि तीनै फर्म्याटका खेल खेलेका छन्। भारतको आइपिएलमा उनले सन् २०१४ देखि खेलेका थिए । उनले पछिल्लो पटक सन् २०२२ मा मुम्बई इन्डियन्सबाट खेलेका थिए । उनी गत सातासम्म अबुधावी टी–१० लिग खेलिरहेका थिए । उनी अजमान बोल्ट्समा आबद्ध थिए ।
जनकपुरको कप्तान अनिलकुमार साह छन् । उनीसँगै आसिफ शेख, ललित राजवंशी टोलीमा छन् । शनिबार विराटनगरलाई हराउँदा योगदान गरेका लाहिरू मिलान्था र हर्ष थाकरले पनि जनकपुरमा प्रभाव पार्नेछन् ।