काठमाडौं । २०७९ सालको निर्वाचनपछि रिक्त ४२ वटा स्थानीय तहमा यही १६ मङ्सिर गते उपनिर्वाचन भयो ।
दलगत प्रतिस्पर्धाका आधारमा हेर्दा यो उपचुनाव सबैभन्दा बढी कांग्रेसका निम्ति अर्थपूर्ण छ । किनकि रिक्त स्थानमध्ये अधिकांश स्थानीय तह यसअघि कांग्रेसले जितेका स्थान थिए ।
रिक्त भएका स्थानीय तहमध्ये एक नगरप्रमुख, एक नगर उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १८ वडाध्यक्ष र दुई जिल्ला समन्वय समितिमा कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका थिए । तर, दुई गाउँपालिका प्रमुख, एक नगर उपप्रमुख र केही वाडमा काँग्रेसले आफ्नो विरासत जोगाउन सकेन ।
४२ मध्ये ३५ ठाउँको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा काांंग्रेसले १६ वडाध्यक्षमा मात्रै जित हात पारेको छ । ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा भने कांग्रेसकै उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
दैलेखको महाबुमा एमालले खोस्यो
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसले आफ्नो विरासत जोगाउन सकेन । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भए ।
कांग्रेसका झलकबहादुर भण्डारी २ हजार ६७५ मत ल्याएर दोस्रो स्थानमा खुम्चिए । यसअघि कांग्रेसबाट निर्वाचित लछुमन गुरुङको २७ माघ २०७९ मा हृदयाघातका कारण निधन भएको थियो ।
मोरङको ग्रामथानमा माओवादीले खोस्यो
यता, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा पनि कांग्रेसले आफ्नो विरासत जोगाउन सकेन । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा नेकपा माओवादी केन्द्रले खोसेको हो ।
यहाँ माओवादीका नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाए ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पनि गुम्यो
कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पनि गुमाएको छ । यसअघि काँग्रेस निर्वाचित भएको यो नगरको उपप्रमुखमा माओवादीकै देवका लामिछाने विजयी भएकी छन् ।
लामिछाने ४ हजार २ सय ७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार एक सय ४७ मत पाए । यसअघि कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको १७ कात्तिक २०८० को भूकम्पमा परी मृत्यु भएपछि सो पद रिक्त भएको थियो ।
बाजुराको स्वामीकार्तिक खापर कांग्रेसलाई धक्का
यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद पनि कांग्रेसबाट खोसिएको छ । कांग्रेसका तर्फबाट उपाध्यक्ष निर्वाचित मैना जोशीको निधनपश्चात सो पद उपनिर्वाचन भएको थियो ।
जसमा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरेकी छन् ।
कठमाडौंमा रास्वपा हावी
१६ मंसिरमा ३४ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन भएको थियो । तीमध्ये काठमाडौं महानगरपालिका–१६ पनि एक हो । यसअघि कांग्रेसले जितेको उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।
यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको काँग्रेस भने तेस्रोमा धकेलिएको छ ।
कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाएर तेस्रो भए । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
यसअघि कांग्रेसले जितको काठमाडौंको कीतिपुर नगरपालिकाको प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी रहेको छ । यसअघि कीर्तिपुरको मेयरमा राजकुमार नकरमी र गौरीशंकरको उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । गत साउन १० गते नकरर्मी र २०८० आसार ३१ गते तामाङको निधन भएको थियो ।
यसअघि भएको उपनिर्वाचनहरूमा पनि कांग्रेसको लागि सुखद रहेको थिएन । गत वैशाखमा इलाम–२ र बझाङ प्रदेश सभा–१ को परिणाम एमालेको पक्षमा रह्यो । दुवै ठाउँमा निकटतम् प्रतिस्पर्धी बनेको काँग्रेस एमालेसामु नतमस्तक भयो ।
इलाम–२ को सिट एमालेबाट खोस्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको काँग्रेस विगतमा जितेको बझाङ प्रदेश सभा–१ समेत गुमाउन पुग्यो । त्यस्तै २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि कांग्रेसले तनहुँ–१ मा पनि आफ्नो विरासत जोगाउन सकेको थिए ।
कांग्रेसको गढ मानिएको तनहुँ– १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई २० हजार १२२ मतान्तरले पराजित गर्दै रास्वपाका स्वर्णिम वाग्ले विजयी भएका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले माओवादीसँग धेरै ठाउमा गठबन्धन गरेर चुनाव लडेको थियो ।
सत्तासीन काँग्रेस र एमालेले केही स्थानमा गठबन्धन गरेपनि अधिकांश स्थानमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । गत चुनावमा गठबन्धन गर्दा घाटा भएको निष्कर्ष निकालेको काँग्रेसलाई एक्लै चुनाव लड्दा थप धक्का लागेको छ ।