काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रैथाने कर्मचारीहरुको रजगज छ । निजामती सेवा नियमावलीमा प्रत्येक कर्मचारीको २ बर्षमा आवधिक सरुवा हुने प्रावधान राखिएको छ । तर त्यो प्रावधान सामान्य प्रशासन मन्त्रालयका केही कर्मचारीको हकमा लागू हुन सकेको देखिँदैन ।
कर्मचारी सरुवा गर्ने अधिकारीकै सरुवा गर्ने ताकत राख्ने त्यस्ता कर्मचारीहरुका लागि सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा जुनसुकै पार्टीका मन्त्री आए पनि फरक पर्ने गरेको पाइँदैन । दर्जन मन्त्री आए गए, सहसचिव, सचिव धेरै फेरिए । तर ती कर्मचारीहरु अड्डा जमाएर बर्षौंदेखि रजगज गरिरहेका छन् ।
उपसचिवद्वय रुपनारायण खतिवडा र रेशमलाल कँडेल तथा नायबसुब्बा रामचन्द्र अधिकारी र उमेश पराजुली शक्तिशाली कर्मचारीका रुपमा सामन्यमा चिनिन्छन् । उनीहरुलाई नियम–कानुन केही लाग्दैन ।
सामान्य प्रशासन मन्त्रीका सचिवका निजी सचिवदेखि लिएर मन्त्रालयका सबै शाखा चाहारिसकेका उपसचिव खतिवडा कुनै समय कर्मचारी सरुवाको बिचौलियाको भूमिका खेलेको आरोप लागेका कर्मचारीका रुपमा चिनिन्छन् ।
कर्मचारी प्रशासन शाखामा रहँदा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा रकम लिएर सहसचिव, सचिव र मन्त्रीसम्म पुर्याउने भूमिका खेलेकोमा उनी विवादमा समेत परेका थिए ।
सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारी र सूर्यप्रसाद गौतमको पालामा खतिवडाले कर्मचारीको सरुवामा करोडौं उठाएको आरोप लागेको थियो । ०७६ देखि खतिवडा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शाखामा घुम्दैफिर्दै त्यहीँ टिक्ने र सरुवामा अहिले पनि चलखेल गरिरहेका छन् ।
एमालेनिकट बताउने उपसचिव खतिवडा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाकै भएका कारण मन्त्रालयबाहिर उनको सरुवा गर्ने हिम्मत जीवनभर पर्यटन मन्त्रालयको संस्कृृति शाखा हुँदै महाशाखामा कार्यरत सचिव भरतमणि सुवेदीसँग हुने कुरै भएन ।
त्यसैगरी अर्का उपसचिव रेशमलाल कँडेल ०७३ देखि सामान्य प्रशासन मन्त्रालयमा हालीमुहाली गर्दैआएका छन् । रोजी रोजी शाखा चलाउँदैआएका कँडेललाई मन्त्रालय बाहिर सरुवा गर्ने ताकत कसैसँग देखिंदैन ।
त्यसैगरी, सामान्य प्रशासन मन्त्रालयका नासु रामचन्द्र अधिकारी ११ बर्षदेखि कार्यरत छन् । आन्तरिक प्रशासन शाखामा कार्यरत उनी दर्जाले सुब्बा भए पनि सहसचिव र सचिवलाई नै हल्लाउन सक्ने भनेर चिनिन्छन् ।