काठमाडौं । गृहमन्त्रालयमा यतिबेला बद्नाम कर्मचारीहरुले घेराबन्दी गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई तिनै कर्मचारीहरुले राजनीतिक वृतिविकासमा दाग लगाइरहेका छन् । काठमाडौैजस्तो संवेदनशील जिल्लाको सिडियो जयराज आचार्य नक्कली शैक्षिक प्रमाण पत्र काण्डमा दोषी देखिएका छन् ।
गृह मन्त्रालयमा कनिष्ठ सहसचिवहरु महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयको पुरानो ‘सिस्टम’ अनुसार महत्त्वपूर्ण र संवेदनशील जिल्लाको नेतृत्व गरेर आएपछि मात्र ती सहसचिवले महाशाखाको नेतृत्व गर्न पाउथे । मन्त्रालयको महाशाखा प्रमुख भइसकेपछि सिडिओमा जाने चलन थिएन । अहिले त जिल्लाको अनुहार नै नदेखेका सहसचिवहरू महाशाखा प्रमुख हुँदा गृह मन्त्रालय झन बद्नाम हुँदै आएको छ ।
गृह मन्त्रालयमा श्रम र यातायातको टिम हाबी हुँदा गृहको सिस्टम नै बिग्रिएको गृहका क्याडरहरु टिप्पणी गर्छन् । गृहमन्त्री रमेश लेख श्रम र यातायातमन्त्री हुँदाको टिम अहिले गृह मन्त्रालयमा हाबी छ । त्यहिँ टिमका कारण अहिले गृह मन्त्रालयमा अनुभवी र गृह बुझेका कर्मचारीहरू ओझेलमा छन् । गृह मन्त्रालयले प्रभावकारी ढंगले काम गर्न सकेको छैन ।
गत असोजको बाढीपहिरो जस्तो प्राकृतिक विपदमा गृह मन्त्रालयले खेलेको भूमिका प्रभावकारी हुननसक्नु पनि त्यही एउटा कारण थियो । कर्मचारी व्यवस्थापनमा मात्र होइन, उचित सल्लाह दिने गृह बुझेको प्रभावकारी टिम नहुँदा गृहमन्त्री रमेश लेखक आलोचित हुँदै आएका छन् ।
यातायात व्यवस्था विभागमा बसेर नक्कली लाइसेन्स र इम्बोष्ड नम्बर प्लेट घोटलामा मुछिएका दुई सहसचिव अहिले मन्त्रीलाई नै बद्नाम गराउन लागि परेका छन् । टोकराज पाण्डे र गोगन हमालको जोडीले मन्त्रालय फोहोर बनाएको भन्दै गृहमा चर्चा चल्ने गरेको छ । यस्तै अर्का सहसचिव ऋषि तिवारीको काम पनि प्रभावकारी हुन नसकेको भन्दै गृहमा आलोचान भैरहेको छ ।
गृह मन्त्रालयले सहसचिव सिडियो हुने जिल्लाको बर्गीकरण गर्दा पनि आफू अनुकुल गरेको भन्दै आलोचना भएको छ । राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को पदस्थापन वा सरुवा वा काजको लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गमा जिल्लाहरू वर्गीकरण गरेको थियो । गृहले सहसचिव प्रमुख जिल्ला अधिकारी भएर जाने काठमाडौं, सहित १७ वटा जिल्लालाई ‘क’ वर्गमा राखेको छ ।
त्यस्तै इलामसहित २६ जिल्लालाई ‘ख’ वर्ग र अछामसहित १८ जिल्लालाई ‘ग’ वर्गका वर्गीकरण गरेको छ ।ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, कालीकोट, हुम्ला, मुग डोल्पा, मनाङ, मुस्ताङ, दार्चुला, बझाङ, बाजुरा, रुकुम पूर्व र रुकुम पश्चिम गरी १६ जिल्लाबाहेक अरू जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिवको दरबन्दी बनाइएको छ ।
उपसचिवको दरबन्दी हुँदा पनि फरक नपर्ने जिल्लामा समेत सहसचिवको पद बढाउन दरबन्दी सिर्जना गरेकाले त्यस्ता जिल्लामा सहसचिवहरू जान नमानेपछि गृहमन्त्री लेखक आफै झसँग भएका छन् ।
गृह मन्त्रालयले काठमाडौं, कास्की, कैलाली चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर, सुनसरी, धनुषा, भक्तपुर, काभ्रेपलाञ्चोक, दाङ र सुर्खेतलाई सहसचिव प्रमुख जिल्ला अधिकारी हुने ‘क’ वर्गको जिल्लामा राखेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं, मोरङ र रुपन्देही जिल्लामा सिडिओ भएर जान सहसचिवहरू मरिहत्ते गर्दै आएका छन् । पहिला काठमाडौं र मोरङपछि काठमाडौंको ‘लाइफलाइन’ मानिएको रक्सौलसँग सीमाना जोडिएको पर्सा जिल्लामा सिडिओ भएर जान सहसचिवहरूको प्रतिस्प्र्धा हुने गरेको छ ।
रुपन्देहीमो बेलहिया नाकामा चाप बढ्नु र गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत थप पूर्वाधार निर्माण भएपछि रुपन्देही सिडिओका लागि आकर्षक जिल्ला बनेको छ । त्यहाँ अहिले वासुदेव घिमिरे छन । पर्साका सिडियो गणेश अर्याल र महोत्तरीका सिडियो लालबाबु कवारीपनि गृहले केही दिन अघि स्पष्टिकरण सोधिसकेको छ ।