काठमाडौं । एमालेको तर्फबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल रहेका छन् । नेपालको अर्थबजारले उनलाई पत्याएको छ । अहिले पनि आर्थिक गतिविधि हुनुमा उनको योगदान रहेको बताइन्छ । पौडेल अर्थशास्त्री नभए पनि अर्थतन्त्रसम्बन्धी उनलाई व्यवहारिक ज्ञान छ । निजी क्षेत्रसँग मिलेर उनले सुधारका धेरै प्रयास गरेका छन् । तर, उनको यो कामलाई पूर्वअर्थमन्त्रीसमेत भइसकेका डा. युवराज खतिवडालाई मन परेको छैन ।
अर्थमन्त्री हुँदा खतिवडा आलोचनाको पात्र भएका थिए । तिनै खतिवडा दिनहुँ बालुवाटार पुगेर अर्थमन्त्री पौडेलको बदख्वाइँ गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलविरुद्ध प्रम ओलीलाई कुरा लगाउने अर्का व्यापारी मोती दुगड हुन् । यी दुई व्यक्तिले प्रधानमन्त्रीलाई पौडेलले गर्न लागेको काममा अवरोध गरिरहेका छन् ।
जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ सालमा सांसद सदस्य नै नरहेका डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री बनाए । अहिले फेरि मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएर ‘डिफ्याक्टो’ अर्थमन्त्रीको भूमिकामा उभ्याएका छन् ।
सांसद नभएको अवस्थामा संविधानतः उनी अर्थमन्त्री बन्न पाएनन्, त्यसबेला पनि प्रधानमन्त्री ओलीले उनलाई ‘डिफ्याक्टो’ अर्थमन्त्री बनाएका थिए । अर्थमन्त्रालयमा सबै योजनाहरु पौडेलले निर्माण गर्छन तर त्यसमा खतिवडाले प्रधानमन्त्रीलाई अगाडि राखेर ‘केरमेट’ गर्ने गरेको स्रोतले बताएको छ ।
खतिवडाको भूमिका प्रधामन्त्रीलाई आर्थिक सल्लाह दिने मात्रै छैन, खतिवडाले अर्थमन्त्रालय मात्रै हैन, उद्योग वाणिज्य तथा आपूर्तिदेखि भौतिक पूर्वाधार तथा यातायातदेखि ऊर्जा मन्त्रालयसम्मका गतिविधिलाई अझै बढी नियन्त्रणमा राख्न खाजेका छन् । जसले गर्दा प्रधानमन्त्री ओलीको भन्दा पनि उनको आलोचना सुरु भएको छ ।
एमालेमा पार्टी कार्यकर्ता र नेताभन्दा सबैभन्दा बढी लाभको पद हासिल गरेका खतिवडाले विकास आयोजनामा खर्च हुने बजेटमा पनि कैची चलाउने गरेका छन् ।
उनी नियुक्ति भएको शुरुमै अर्थमन्त्री भन्दा आफू शक्तिशाली भएको जनाउ दिएका थिए । अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच साउन ४ गते मौद्रिक नीति ल्याउने सहमति समेत भएर राष्ट्र बैंकले सञ्चालक समिति बैठक पनि डाकिसकेको अवस्थामा खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि एकाएक मौद्रिक नीति सार्वजनिक हुन सकेको थिएन ।
त्यसयता अर्थमन्त्री पौडेल र खतिवडाको सम्बन्ध सकारात्मक बन्न सकेको छैन । उनले आफूलाई अर्थमन्त्रीभन्दा ‘सुपर अर्थमन्त्री’ हुँ भन्ने भाष्य निर्माण गरिरहेका छन् । प्रधानमन्त्रीका विश्वास पात्र र आर्थिक सल्लाहकारले भनेको नमान्न पनि अर्थमन्त्रीलाई कठिन नै रहेको छ ।
पूर्वअर्थमन्त्री, पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भएकाले उनलाई प्रधानमन्त्री ओलीले जनाकारकै रुपमा लिएका छन् । ओलीको यो सबैभन्दा ठूलो भ्रम हो ।
एमालेभित्र अध्यक्ष ओलीसँग तर्कवितर्कसहित दोहोरो संवाद गर्न सक्ने दोस्रो व्यक्ति नहुनु र ओलीका विश्वासमात्र खतिवडा हुनुले एमाले उपाध्यक्षसमेत भएर पनि अर्थमन्त्री विष्णु पौडेलले खतिवडालाई बेवास्ता गर्न नसक्दा पनि समस्या उत्पन्न भएको जानकारहरुको दाबी छ । अर्थमन्त्री पौडेलले मानेनन् भने खतिवडाकै सुझावलाई प्रधानमन्त्रीको निर्देशन भनेर अर्थमन्त्रीसँग ठोकिने गरेको स्रोतको दाबी छ ।
नेकपा एमाले सत्तामा नहुँदा गुमनाम बन्ने खतिवडा पार्टी सत्तामा पुग्दा भने ओलीले काखी च्याप्ने गरेका छन् । खतिवडाले पटक–पटक सत्ताको स्वाद चाखेका छन् । सक्रिय राजनीति गर्नेलाई पछि पारेर ओलीले खतिवडालाई नै ठूलै पद थमाइदिन्छन् । त्यसैले पनि खतिवडा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ताको वरिपरि रहने गरेका छन् ।
एमालेभित्र खतिवडालाई धेरैले ‘मण्डले’को रूपमा पनि चिन्छन् । आफ्नो जीवन एमालेकै राजनीतिमै समर्पित गरेका राजनीतिज्ञले नपाएको पद खतिवडाले चुट्कीको भरमै पाएर सबैलाई चकित पारेका छन् ।