Logo
Logo

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार : शेखर कोइराला


504
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।

नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा आज विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता डा. कोइरालाले कांग्र्रेस र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पारे ।

नेता डा कोइरालाले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन । यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ ।’ उनले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पु¥याउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

नेता डा कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिए । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गरे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा प्रदेशका एक सय १३ पालिकाका सभापतिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्