Logo
Logo

दक्षिण कोरियामा ‘सैनिक शासन’ घोषणा


1.8k
Shares

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मंगलबार आपतकालीन सैनिक शासन घोषणा गरेका छन् ।

संसदमा बजेट विधेयकलाई लिएर जारी गतिरोध र ‘कम्युनिस्ट शक्तिबाट उत्पन्न खतरा’ रोक्न यस्तो कदम उठाउन आवश्यक भएको बताउँदै उनले सैनिक शासन घोषणा गरेका हुन् ।

राष्ट्रिय सम्बोधन गर्दै राष्ट्रपति युनले भने, ‘उत्तर कोरियाका कम्युनिस्ट शक्तिबाट हुने खतराबाट दक्षिण कोरियाको स्वतन्त्र लोकतान्त्रिक व्यवस्था जोगाउन र राज्यविरोधी तत्त्वलाई हटाउन म आपतकालीन सैनिक शासन घोषणा गर्दछु।’

उनले विपक्षी दलमाथि कटाक्ष गर्दै जनताको जीवनलाई बेवास्ता गर्दै इमपीचमेन्ट, विशेष अनुसन्धान र आफ्नो नेतृत्वलाई न्यायबाट जोगाउन शासन अवरुद्ध पारिएको आरोप लगाए।

युनले यो कदम आफ्नो पीपल्स पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच आउँदो वर्षको बजेट विधेयकलाई लिएर जारी विवादका कारण उठाइएको बताए।

विपक्षी सांसदहरूले गत साता संसदीय समितिमा प्रमुख खर्च कटौतीसहितको बजेट योजना स्वीकृत गरेका थिए । युनले विपक्षी सांसदहरूले सार्वजनिक सुरक्षा र लागूऔषध नियन्त्रणजस्ता महत्त्वपूर्ण बजेटमा कटौती गरी ‘देशलाई लागूऔषध अपराधको केन्द्र र सार्वजनिक सुरक्षा संकटतर्फ धकेलिएको’ दाबी गरे ।

उनले विपक्षीलाई ‘राज्यविरोधी शक्ति’ को संज्ञा दिँदै आफ्नो निर्णयलाई ‘अवश्यंभावी’ बताएका छन् ।

राष्ट्रपतिको यो कदमले दक्षिण कोरियाको राजनीतिक परिस्थिति थप अस्थिर बनाउने देखिएको छ। विपक्षी दलको बहुमत रहेको ३०० सदस्यीय संसदमा यो निर्णयलाई कस्तो प्रतिक्रिया आउँछ भन्ने प्रतीक्षा छ।

प्रतिक्रिया दिनुहोस्