Logo
Logo

केही घण्टामै ‘सैनिक शासन’को निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति


693
Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हटेका छन् । प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले केही घण्टामै आफ्नो निर्णय फिर्ता लिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार राति उनले राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न ‘मार्शल ल’ लगाउनु परेको उनले बताएका थिए । ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका लागि र देश विरोधी तत्वलाई अन्त्य गर्नका लागि मार्शल ल लागू गर्नु परेको छ,’ उनले भनेका थिए । उनले देशमा मार्शल ल कहिलेसम्म जारी रहन्छ ? भन्ने पनि स्पष्ट पारेका थिएनन् ।

मार्सल ल घोषणालगत्तै सैनिकहरु संसद भवन र वरपरका क्षेत्रमा तैनाथ भएका थिए । उनीहरुले संसद भवनमा कसैलाई पनि प्रवेश दिएका थिएनन् । त्यसको प्रतिवाद गर्दै प्रतिपक्षी दल सडकमा उत्रिएको थियो ।

राष्ट्रपति योलले विनाकारण सैन्य शासन लागू गरेको र यो असंवैधानिक समेत भएको प्रतिपक्षीको भनाइ थियो । त्यसपछि फेरि विशेष सम्बोधन गर्दै राष्ट्रपति योलले मार्शल ल लगाउने निर्णय फिर्ता लिएको बताए ।

उनले संसदले मार्शल ल हटाउन माग गरेकाले आफूले सेनालाई फिर्ता बोलाएको बताए । उनले भने, ‘मैले नेशनल एसेम्बलीको अनुरोधलाई स्वीकार गरेको छु र मन्त्रिपरिषद बैठकमार्फत् मार्शल ल हटाउने छु ।’

दक्षिण कोरियाका सांसदहरुले नेशनल एसेम्बलीको मध्यरात्रि सत्रमा ‘मार्शल ल’ लगाउने निर्णय फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेका थिए । यसैकारण राष्ट्रपति योल आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्