Logo
Logo

एनपीएलः लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९ ओभर ५ बलमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।

विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए । सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।

मार्टिन गुप्टिलले २८ रन बनाए । प्रतिश जिशि ६, राजेश पुलामी ४ , कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए । क्रिश शोलले अन्तिम ओभरमा ४ बलमा १४ रन बनाएर इनिङको समाप्ति गरे भने दिपक बोहरा ८ बलमा ९ रन बनाएर अविजित रहे। निकोलस किर्तनलाई बोल्ड गर्दै शून्यमै पेभेलियन फर्किए।

बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र सादबिन जफरले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र सादबिन जफरले समान १५/१५ तथा सन्दीप जोराले १२ रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको थियो ।

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले एक क विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्