काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल मंसिर अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री चीन जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले मंसिर २६ देखि २९ मा दक्षिणी छिमेक भारतको भ्रमण गर्ने तय भएको सैनिक मुख्यालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्या दिने परम्परा छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ६ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। मंसिर ५ गते नेपाल आएका द्विवेदी ९ गते स्वदेश फर्केका थिए।
भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
सो अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रमसमेत रहेको सैनिक मुख्यालयले जानकारी दिएको छ ।