सियोल । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले मार्सल ल घोषणा गरेर संविधानको उल्लंघन गरेको महाभियोग प्रस्तावमा उल्लेख छ ।
विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानूनको उल्लंघन गरेको’ भनिएको छ । प्रस्तावमा मार्सल ल लगाउने उनको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानूनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ ।
युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गर्नुभएको थियो भने केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गरेका थिए ।
‘यी कार्यले मार्सल ल हटाउन माग गर्न बैठकहरूमा उपस्थित हुन सांसदहरूलाई उल्लेखनीय रूपमा बाधा पुुर्यायो । यस्ता कदमहरू शक्ति पृथकीकरणको सिद्धान्तको सीधा उल्लङ्घन हो र यसले संसद् सदस्यहरूको विचार–विमर्श, मतदान र संसदीय अखण्डताको अधिकारमा असंवैधानिक हस्तक्षेप गर्छ’, प्रस्तावमा भनिएको छ ।
संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।