Logo
Logo

चीनमा अनेक अनुभूति


2.2k
Shares

चीन कला संस्कृतिमा कति धनी छ भन्ने त सबैलाई थाहा नै छ । चिनियाँ पाककला संसारमै उत्कृष्ट मानिन्थ्यो त्यो बेला । हामी विद्यार्थीले पनि पाककला लगायत चीनको कला संस्कृतिका अनेक विधालाई नजिकबाट हेर्ने, अनुभव गर्ने अवसर पाउँथ्यौँ ।

विभिन्न कार्यक्रममा आफै सरिक हुन पनि पाउँथ्यौं । कहिले टिभीको विशेष शो, कहिले नाटक त कहिले युनिभर्सिटीको गीत संगीत कार्यक्रममा । कुनै कुनै बेला फिल्ममा समेत सहायक पात्रको रुपमा भाग लिन्थ्यौँ । विभिन्न अन्तर्राष्ट्रिय दिवसका अवसरमा विदेशी परिवारलाई पनि विभिन्न गतिविधिमा भाग लिन निम्त्याउँथे । यस्ता केही रमाइला प्रसंगहरु बेलाबेलामा सम्झिरहन्छ ।

एकपल्ट शांघाईभरिका विदेशीहरू बीच चिनियाँ भाषाको प्रतियोगिता भएको थियो । त्यो बेला सरोज र अर्को एक नेपाली विद्यार्थी जयनारायण शाहले प्रस्तुत गरेको एउटा हास्य संवादले पहिलो पुरस्कार पाएको थियो ।

त्यसको स्क्रिप्ट सरोजले नै लेखेका थिए चिनियाँ भाषामा । पुरस्कारमा प्राप्त चिनियाँ पोर्सेलिनको सुन्दर कलात्मक फूलदान अझै हामीसँग छ । फर्कने बेला धेरै मन परेका र आवश्यक सामानहरू पनि ल्याउनै नसकेर अरु साथीहरूलाई बाँडिदियौं । तर, त्यो फूलदानी भने एकदम हिफाजत गरेर ल्याएका थियौं । एउटा टिभी कार्यक्रम विभिन्न परिवारहरूको विशेषता र प्रतिभाका बारेमा थियो । त्यसमा हामी तीनै जना गएका थियौं ।

अर्को एकपल्ट चाहिँ एउटा फिल्ममा विदेशीहरू देखाउनु पर्ने भएछ । हामी आमाछोरीलाई बोलाए । विदेशीको रुपमा देखा पर्न गयौँ । हाम्रो खासै भूमिका हुने कुरै भएन । तर, जतिसुकै सानो भूमिकामा पनि डाइरेक्टरले भनेजस्तै गर्नुपर्ने रहेछ ।

एकपल्ट गरेर नपुग्ने, डाइरेक्टरलाई चित्त नबुझुन्जेल, त्यही कुरा दोहो¥याई रहनुपर्ने । हैरानै भयो । एउटा रमाइलो कुरा चाहिँ के भयो भने कथाको आवश्यकता अनुसार फिल्ममा कसरी पानी पार्दा रहेछन् भन्ने प्रत्यक्ष देखियो ।

युनिभर्सिटीमा एउटा सांस्कृतिक कार्यक्रम भएको बेला विदेशी विद्यार्थीहरूलाई पनि मन छ भने गीत वा नृत्य प्रस्तुत गर्नु भनेका थिए, प्रशासनका मान्छेले । उहिले नेपालकै कलेजमा पढ्दा गीत गाउन मन पराउँथेँ ।

एकपल्ट कलेजमा गीत गाएपछि प्रिन्सिपलले समेत बरोबर ‘नेपालकी छोरी’ भनेर जिस्क्याउने गर्थे । गोपाल योञ्जनको ‘बनेको छ पहराले यो छाति मेरो…’ मा ‘नेपालको छोरो’ लाई ‘नेपालकी छोरी’ बनाएर गाएकी थिएँ । त्यसैबाट ‘नेपालकी छोरी’ उपनाम पाएकी थिएँ ।

तर शांघाईमा छँदा गीत गाउने अभ्यास छुटिसकेको थियो । त्यही पनि गाइदिएँ । चिनियाँ स्रोताहरूका निम्ति अनौठो भएको थियो होला । अर्कै युनिभर्सिटीका नेपाली विद्यार्थीले गिटार बजाएका थिए । सुर ताल नमिलेको त्यो गीत सम्झँदा पनि हाँसो उठ्छ ।

तर, गाउने आँट त गरेछु, त्यति ठूलो भीडमा पनि ! हल्का फुल्का गीत गाएको भए हुने, शब्द नै नबुझ्ने ठाउँमा गम्भीर गीत गाउनुको के अर्थ हुन्थ्यो र ! केही चिनियाँ विद्यार्थीहरूले मेरो मन राख्न ‘कति राम्रो’ भनिदिए । त्यसैमा चित्त बुझाएँ ।

उहिल्यै यहीँको कलेजमा नाटक खेलेको याद आउँछ । त्यो नाटक हेरिसकेपछि धेरैले त्यही क्षेत्रमा अगाडि बढ्न सल्लाह र प्रोत्साहन पनि दिएका थिए । मदन दाइ (मदनकृष्ण श्रेष्ठ) लाई त्यहीबेलादेखि चिनेकी हुँ, उहाँले समेत प्रोत्साहन दिनुभएको थियो ।

तर, अरुको प्रोत्साहन पाए पनि घरमा आमालाई पटक्कै मन पर्दैनथ्यो छोरीमान्छेले बाहिर नाटक खेल्ने, गीत गाउने कुरा । राजनैतिक गतिविधिमा हिंडेकै सहन सक्नु भएको थिएन । झन् रङ्गमञ्चमा गएको के पचाउनु हुन्थ्यो ! जे होस्, चीनमा पुगेका बेला भने ख्याल ख्यालकै सही, रङ्गमञ्चको स्वाद चाखिएछ ।

अनुभवकै निम्ति लामो दौडमा समेत मैले भाग लिएँ । धेरैजसो विदेशी विद्यार्थीहरू मभन्दा सानै उमेरका थिए । आमा पनि भैसकेकी त म मात्र थिएँ । तैपनि कति सक्दो रहेछु भनेर हेर्नै भनेर भाग लिएँ । जित्ने कुरा थिएन, तर साह्रै लाजमर्दो पनि भएन । अहिले सम्झँदा हाँसो उठ्छ । आफ्नो रहर र दुस्साहस सम्झँदा ।

अर्को एउटा रमाइलो कुरा– विदेशीहरूको निम्ति भनेर चिनियाँ परिकार बनाउने ट्रेनिङ् भएको थियो । तीन महिनाको लामो कोर्स थियो । त्यसमा भाग लिन तीनजना नेपाली गएका थियौं । अरु देशका भने विद्यार्थी मात्र नभएर विदेशी कुटनीतिक आयोगका मानिस पनि थिए ।

तालिमको अन्त्यमा प्रतिष्पर्धा हुँदो रहेछ– साँच्चैको जाँच जस्तै ! शेफहरूले चाखेर, खानेकुरा प्लेटमा कसरी सजाएको छ भन्ने प्रस्तुति हेरेर, सबै रित पु¥याएर प्रतिस्पर्धाको नतिजा घोषणा हुने रहेछ । प्रमाणपत्र पनि दिँदा रहेछन् । यसमा भने अचम्मै भयो । म खाना बनाउनमा पोख्त कहिल्यै थिइनँ । तर, त्यो प्रतिस्पर्धामा त म नै प्रथम भएको घोषणा पो भयो !

सानै उमेरदेखि खाना बनाउनुपर्ने थियो घरको परिस्थतिले गर्दा । तर, रहर वा जाँगरले नभएर करले गरिन्थ्यो । राम्रो पकाउन कहिल्यै सिकेकी थिइनँ । चिनियाँ खानामा स्वादको मात्र होइन, प्लेटमा कसरी प्रस्तुत गरेको छ, कति समय लगाएर खाना तयार भएको छ, सबै कुरा हेरिन्थ्यो ।

त्यो अन्तिम दिनमा आफूले यही बनाउँछु भनेर रोज्न पनि नपाउने, उनीहरूले नै दिएको परिकार पकाउनुपर्ने । कसरी के के पकाएँ भन्ने त अहिले ठ्याक्कै सम्झना पनि छैन । बट्टाईका स–साना फुल र अरु केही मिसाएर बनाउनुपर्ने थियो । राम्रै त बन्यो होला नि ! नत्र चिनियाँ सेफहरूको चित्त के बुझ्थ्यो !

कुनै काममा धेरै मिहिनेत नगरे पनि सफल हुने, कुनैमा धैरै मिहिनेत गरे पनि असफल हुने गरिन्छ । यो हिसाब मैले कहिल्यै बुझिनँ । त्यो बेलाको उमेरको जोश र भावनाको कुरा सम्झिँदा लाग्छ जीवनमा केही न केही गर्न मन पराउने मान्छे नै रहेछु ।

देश फर्केपछि अरूलाई पनि आफूले सिकेर आएको सीप बाँड्नुपर्छ भनेर चिनियाँ खाना बनाउने एउटा ट्रेनिङ दिने कोसिस मैले पनि गरेँ । विश्वभाषा क्याम्पसका एकजना चिनियाँ शिक्षक र अरु साथीहरूको समेत मद्दत लिएर एउटा समूहलाई त तालिम दिन पनि सकियो । त्यो बेला अहिले जस्तो धेरै रेस्टोराँहरू भैसकेका थिएनन् ।

अन्तिम दिनमा चिनियाँ दूतावासबाट समेत केही व्यक्तित्वलाई बोलाएका थियौं । त्योबेला भएको एउटै मात्र टिभी च्यानलमा त्यो कार्यक्रमबारे अन्तर्वाता दिएको याद छ । त्यसपछि हेर्ने धेरैले पछि पनि त्यो सिकाई होस् भनेर माग आएको थियो । तर, तालमेल मिलाउनै सकिन । एकपल्टको अनुभव जे भयो, त्यो रमाइलो भयो ।

प्रतिक्रिया दिनुहोस्