काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर-२०२४’ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।
संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरिएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरे ।
समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु सहभागी थिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेले बैंकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा गौरव महसुस गर्दै यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न हौसला मिलेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट अवार्ड प्राप्त गर्न सम्भव भएको उल्लेख गर्दै सेवा सुविधाहरुमा थप्ने बल प्रदान गरेको बताए ।
द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसंम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्ने गरेको छ ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स ‘भर्चुअल क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डबिना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता छ । बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट करिब १८ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।