Logo
Logo

कविता-आग्रह


10.2k
Shares

समयको खेल रहेछ जिन्दगी
वर्षाको भेल रहेछ जिन्दगी
बिहानको घाम जस्तै झुलुक्क उदाउँछ
मध्यान्हमा चर्को राप र तेजको
रवाफ देखाउँदै निकै जगमगाउँछ
साँझ परेपछि टुप्लुक्क अस्ताउँछ
प्रकृतिकै नियमसँग सामिप्यता बढाउँछ
विडम्बना ! गन्तव्यमा पुग्न नपाउँदै हराउँछ ।
घाम जस्तो दोहोरिएर भोलि उदाउँदैन
रूख झैं पालुवा फेरेर फेरि सुसाउँदैन
लहराइरहेका सपनाको खेतीमा
एक पटक डढेलो लागेपछि
पाखाको सिरू जसरी कहिल्यै पलाउँदैन
रहरको हरियाली मरूभूमि बन्छ
छरपष्ट योजनाहरू खरानी हुन्छन्
खै कहाँ छ अस्तित्व मानव जीवनको ?
खै कहाँ छ गन्तव्य मानव जीवनको ?

हो यही जिन्दगीको श्रेणीमा
दर्ज भएको छ मेरा बा को पनि
अनौठो र अपत्यारिलो जिन्दगी ।
जवानीमा देखिएको असाधरण सपना
आफैंले कोरेको विकासका योजना
पूरा गर्ने संकल्पसँगै
त्याग, तपस्या र सामाजिक चरित्रले
धनी गरीब, महिला पुरूष,
केटाकेटी जवानी र बृद्धका खातिर
अनुकरणीय व्यक्तित्वको शान
इमान जमानको भारी बोकेर
समाजको लालगेडी त कसैको कसिङ्गर बनेर
मानव मुट्टुमा हलचल मच्चाउने
पराक्रमी मेरा बा को अनौठो जीवनी ।
देख्ने र अनुभूति गर्नेका लागि
निकै शक्तिशाली मेरा बा
परिवारिक सुखलाई थाति राखेर
समृद्ध समाजको फराकिलो गन्तव्यमा
लम्किंरहँदा समयले ठेस लाएपछि ।

छरिँदै गए सपना फोहरा सरी
बग्दै गए रहर नफिर्ने गरी
केही वर्ष पहिले निन्याउरो भावमा
बा को सुकेका ओठबाट
घरि–घरि व्यक्त हुने गर्थ्यो
‘मैले धेरै बाटो खनाएँ
गोडा सत्रेक स्कुल बनाएँ
पाटपौवा धारो मन्दिर अनि
एघार वटा पुल बनाएँ
कुलो बिजुली बत्ती पनि पुर्याएँ ।
अझै विकासका काम धेरै बाँकि छ
पर्यटकीय बाटो त खन्नै बाँकि छ ।
त्यसैले त एक पटक चुनाव जित्नु छ
अब फेरि एकपटक खुशी बाँड्नु छ ।’
उफ्…, खै के भनौं र आजकल ?
निस्वार्थ भावहरू सुनिरहेका कानले
प्रत्येक धड्कन महशुस गर्ने मनले
सुनेर नसुनेझैं बुझेर नबुझेझैं गर्नुपरेको छ
लामो समयदेखिको सामिप्यता तोडेर
कठोर वा निष्ठूरी बन्नुपरेको छ ।
समयको कठोर साङ्लोले बाँधेपछि
मान्छेको सामर्थ्यले हार्न थालेपछि
असम्भव सोचेजस्तो अनुभूति गर्न ।
नसकिने चाहेजस्तो खुशी छर्न ।

कलेटी परेका ओठ भित्र पसेका गाला
प्रेमिल बन्धनमा जोडिएका हाड छाला
बादल लागेका धमिला आँखा
डराए झैं लर्बराएको बोलीभित्र पनि
सहास र हिम्मत उस्तै छ अझै पनि
आफ्नै पौरखको रङ्ग पोतिएको
सुखी र समृद्ध समाज हेर्ने
बाँकि समृद्धिको अर्को खाका कोर्ने
तर बिडम्बना !
अकस्मात रोकियो हिडेको बाटो पनि
खहरे झैं स्याप्पै सुक्यो उर्लिएको रहर पनि
म अबोध बालक झैं बुझ्पचाएर
प्रार्थानाका साथ शीर झुकाएर
समयसँग आग्रह गरिरहेछु
विनयका शब्दहरू कोरिरहेछु ।

ए निष्ठूरी समय !
यदि मिल्छ भने बा को जोश र उमङ्ग
एक पटक फिर्ता गरिदेऊ न है !
निस्वार्थ सेवा भावभित्रको
तेज रहर र कर्म शक्ति
मान सम्मान र प्रतिष्ठामा
मुजुरा पलाएर आफ्नै जन्मथलोमा
झकमक्क फुलेको हेर्न बाँकि छ
तिनै पौरखी हातको सहारामा मैले
उन्नतिको सिंढीमा टेक्न बाँकि छ
सम्पन्नताको बाँकि काम गर्ने बा को
इच्छा शक्तिलाई मलजल गरेर
एक पटक हराबरा बनाइदेऊ न है !
आफैंले लगाएको बाली लटरम्म फल्दा
सुखानुभूति गर्ने मन फेरि दिलाइदेऊ न है !
अरूकै लागि हाँसेर अनि बाँचेर
सफलताको शिखरमा पुग्न
मानसिक जागरण पून भरिदेऊ न है !
तिमीले खोसेको स्मरण फिर्ता गरी
सम्झनाको ढिकुटी भरिदेऊ न है ! !
खडेरी परेको खुशीमा सिञ्चन गरेर
ओठभरिको मुस्कान पून छरिदेऊ न है !

-सुशीला शर्मा
बाग्मति प्रदेश भीमेश्वर नगरपालिका ४, दोलखा

प्रतिक्रिया दिनुहोस्