काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीका नेताहरू सरकारमा हुँदा होस वा बाहिर हुँदा चीन भ्रमणमा लागि लालयित हुने गरेका छन् । चीनको लोभलाग्दो प्रगतिमा रमाउने सबैखाले कम्युनिष्ट नेताहरूको चीन भ्रमण बाक्लिँदै गएको छ ।
उनको पछिल्ला तीन महिनामा मात्र एमाले (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का दर्जनभन्दा बढी नेताले चीन भ्रमण गरिसकेका भए पनि उनीहरू फर्किदा भ्रमणबाहेक केही उपलब्धि देखिएको छैन ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेकै बेला पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीनबाट फर्किसकेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीनमै छन् ।
एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई नेतृत्वको टोली पनि चीन पुगेको छ । प्रधानमन्त्रीको ओलीको चीन भ्रमणको बेला खनाल र श्रेष्ठ चीनमै थिए । उनीहरूले त्यहाँ बसेर वाम एकता र नेपालमा कम्युनिष्टहरूको उदयको बारेमा चर्चा गरे पनि अहिले नै एकता भइहाल्ने अवस्था भने छैन । नेपाल फर्केपछि नेताहरू कहिले कांग्रेस र कहिले अन्य दलसँग सत्ता सहकार्यमा जोड दिइरहेका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिनियाँ कम्युनिष्ट पार्टीले ग्वाङझाओमा आयोजना गरेको ‘चाइना अन्डरस्टान्डिङ’ सेमिनारमा भाग लिन गएका थिए । उनले त्यहाँ सिपिसीका वरिष्ठ नेतासँग अन्तरक्रिया गर्नुका साथै समाजवादी समाज स्थापना र त्यसको विकासबारे धारणा राखेका थिए । माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सांघाईमा हुने दक्षिण एसियाको विकाससम्बन्धी सेमिनारलाई सम्बोधन गर्न चीन गएका हुन् ।
यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सीपीसीको निमन्त्रणमा मङ्सिर पहिलो साता उच्चस्तरीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा सिपिसी विदेश विभागका निर्देशकसँग एमाले र सिपिसीको आगामी सम्बन्धबारे छलफल भएको थियो । नेपालमा वामपन्थी एकताको चर्चा पनि भयो तर नेपालमा यसले खासै महत्व पाएन ।
पोखरेल नेतृत्वको टोलीमा एमालेसचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, विदेश विभाग सदस्य दीपेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल, कोसी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसहित १५ जना थिए । यहाँका कम्युनिस्ट नेताहरूबाट एकपछि अर्को भ्रमण भइरहेको छ । सिपिसीले नेपालका कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध राख्दै आएको र तिनीहरूलाई एक ठाउँमा राख्ने कोसिस गरिरहेको छ ।
एमाले–माओवादी गठबन्धन सरकार रहँदै गत असारमा सिपिसीको निमन्त्रणामा एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चीनमा १० दिने भ्रमण गरेको थियो । भ्रमणमा २९ सदस्यीय टोलीलाई एमाले अध्यक्ष ओलीले बिफ्रिङ र निर्देशन दिएका थिए । त्यसबेला सिपिसीका नेताहरूले पार्टी मिल्न नसके पनि सरकार बनाएको भनी बधाई दिएका थिए ।
तर यो टोली चीनमै रहेका बेला गठबन्धन टुटेको थियो । चीन भ्रमणका क्रममा सिपिसीले ‘‘नेपालका कम्युनिस्ट नेताहरूलाई सधैँ एउटै सन्देश दिने गरेको छ’’ नेपालका कम्युनिस्टहरू मिल्दा राम्रो हुन्छ । ‘‘सिपिसीका नेताहरूले नेपालका नेताहरूसँग ‘नेपालका कम्युनिस्ट पार्टीहरू किन मिल्न सक्दैनन्’’ भन्न थालेको भए पनि हाम्रा नेताहरूले उचित जवाफ दिन सकेका छैनन ।
परराष्ट्र मामिलाका जानकारहरू दुई देशका समान विचार राख्ने राजनीतिक दलहरूबिच विशेष सम्बन्ध कायम हुनु नराम्रो नहुने विश्लेषण गरेका छन् । तर त्यो सम्बन्धले दुई देशबिचको कूटनीतिक सम्बन्ध र अर्को देशसँगको सम्बन्धमा कतै असर गरिरहेको छ की भन्नेमा भने ख्याल गर्नुपर्ने उनीहरूको तर्क छ ।
आफ्नो राष्ट्रिय स्वार्थ भुलेर उसैको (चीन)को स्वार्थअनुरुप परिचालन त भइरहेका छैनौं भन्ने कुरामा नेताहरूले ध्यान दिनुपर्ने अवस्था आएको परराष्ट्र मामिला जानकारहरूको जिकिर छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थअनुसार चीन, भारत र अमेरिकासँग सन्तुलितसम्बन्ध कायम गर्नुपर्ने हुन्छ । चीनको उसले पछिल्लो गतिविधि हेर्दा कम्युनिस्ट पार्टीहरूमार्फत नेपालमा आफ्नो स्वार्थ लागु गर्न चाहिरहेको तथ्य लुकेको छैन । चीन नेपालका कम्युनिस्ट पार्टीलाई बलियो बनाएर आफ्नो भूमिका बलियो बनाउन चाहन्छ ।