काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर सात दिनअघि वीरगञ्ज गएका बेला राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिए । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले आयोजना गरेको राजस्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बारा, पर्सा र रौतहटका प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरूलाई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएपछि त्यहाँ हाँसोका पात्र बनेका हुन् उनी ।
‘‘सरकारले तोकेअनुसारको राजस्व सङ्कलन हुन सकिरहेको छैन । तपाईँहरूले आ–आफ्नो ठाउँबाट समन्वयात्मक ढङ्गले सशक्त काम गर्न जरुरी छ, एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर होइन । हातेमालो गरेर सरकारको लक्ष्य भेटाउने गरी काम गर्न अनुरोध गर्दछु’’, उनले निर्देशनको क्रममा भनेका थिए । तर उनको कुरा कसैले पनि ध्यान दिएर सुनेनन् । विवादित छवि भएका सचिवले उपदेश दिएको सुहाउने रहेन छ, हामीले हाँसेर उडायौँ, उनले निर्देशन नदिए पनि यहाँ समन्वयमै काम भइरहन्छ’’, बाराबाट एक कर्मचारीले भने ।
प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको जगमा उभिएका थिए । तत्कालीन श्रम तथा यातायातमन्त्री मोहम्मदआफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।
त्यसपछि उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ–जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैँ विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो ।
बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि त झन् उनको कार्यशैलीले धेरैलाई प्रताडित नै बनायो । तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विश्वासपात्र पुष्करले अख्तियार दुरुपयोग आयोगमा बसेर देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।
वि.सं २०७२ मंसिर १३ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई आयोगमा बोलाएर धम्क्याएका थिए । नाकाबन्दीले ग्रसित भएका बेला आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै उनले पत्रकारहरूकै अगाडि वरिष्ठ सहसचिवहरूलाई अपमानजनक ढङगले निर्देशन दिएका थिए । भूकम्पपछि त्रिपाल किन्दा भएको घोटालाको प्रसङ्ग निकाल्दै तत्कालीन सहसचिवहरू यादवप्रसाद कोइराला, एकनारायण अर्याललगायतको उपस्थितिमा भएको बैठकमा उनले ‘पिशाच’ शब्द प्रयोग गर्दै काम गर्न नसक्ने कर्मचारीलाई पद छाड्न चेतावनी दिएका थिए ।
सचिव र कुनै आयुक्त उपस्थित नरहेको कार्यक्रममा उनले निर्देशन मात्र नभई भनेअनुसार काम नभए कारबाही गर्ने चेतावनी पनि दिएका थिए । यसले गर्दा उनी सधैँ विवादमा आएका कारण यसपटक प्रधानमन्त्री कार्यालयमा थन्किएका छन् । वीरगन्ज बसाइको क्रममा त्यहाँका कर्मचारीलाई उपदेश दिन थालेपछि उनी हाँसोको पात्र बनेर फर्केका थिए ।