Logo
Logo

बिन्दास आइजिपीलाई बाबुराम तगारो


9.4k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको घर जाने मिति नजिक आउँदै गर्दा हेडक्वार्टरमा समय कम, उद्घाटनमा बढी हुन थालेको छ । प्रहरी ऐन आउन ढिलाइ हुने भएपछि उनी अबको चार महिनामा घर जाने निश्चित हुँदा प्रहरी प्रधान कार्यालयमा भेटिन छाडेका छन् । उनी धेरैजसो समय चौकी उद्घाटनमा पुगेर नाम लेखाउन हतार गरिरहेका छन् । केही दिनअघि पोखरा पुगेका आइजिपी कुँवर मनाङसम्म पुग्न भ्याए । अहिले पनि उनी सुर्खेततिर घुमघाम गरिरहेका छन् ।

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष छ । तर, सेवाअवधि बाँकी छँदै त्यसअगावै उमेरहदका कारण उच्च प्रहरी अधिकृतहरू अनिवार्य अवकाशमा जान थालेको र उनको पनि सेवा अवधि थपिने अनिश्चित बनेपछि उद्घाटनमा व्यस्त हुन थालेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा उनी भेटिन गाह्रो भइसकेको छ । डिआइजीको सरुवा र पदास्थपन एक हप्तादेखि हुन सकेको छैन । गृहमन्त्री काठमाडौँ बाहिर भएको बहना बनाएर उनले सरुवा र पदास्थापन गर्न सकेका छैनन् । ‘आइजिपीको ध्यान अहिले उद्घाटनमा छ, सरुवा, बढुवा र वृत्ति विकासमा ध्यान दिन सकेका छैनन’, प्रहरी प्रधान कार्यालयका एक अधिकृतले दृष्टिसँग भने ।

अर्कोतर्फ उनका दाजुकै कारण प्रहरी सङ्गठनमा खेल्नेहरू लाइनमा रहेको स्रोतको जिकिर छ । सरुवा र बढुवामा दाजु बाबुराम कुँवरका बेलुकीका साथीहरूले बढी प्रभाव पारिरहेको स्रोतले जनाएको छ । साख्खै दाजु बाबुरामसँग नाम जोडिएर आउँदा उनी विवादमा परिरहेका छन् । सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि आइजिपी कुँवरको नाम उनै बाबुरामसँग जोडेर आएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरका दाजु बाबुराम राष्ट्रपतिका कानुनी सल्लाहकार हुन् । उनै बाबुराम कुनै समय रवि लामिछानेले सञ्चालन गरेको नेचर हब्स प्रालिको एक वर्ष ६ महिना कानुनी सल्लाहकार थिए । जुन बाबुरामले समेत स्विकारेका छन् । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि बाबुरामलाई समेत अनुसन्धानको घेरामा तान्नको लागि उनका भाइ आइजिपी बसन्तले जोगाएको भन्दै मिडियामा अनेकन टीकाटिप्प्णी जारी छ, यसमा आइजिपी मौन छन् ।

अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) केदार ढकाल मङ्सिर २१ (शुक्रबार)बाट अनिवार्य अवकाशमा गए । प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एआईजीको उमेरहद ५६ वर्ष रहेका कारण उनी अनिवार्य अवकाशमा गएका हुन् ।

त्यसैगरी अर्का एआईजी भीमप्रसाद ढकाल पनि मङ्सिर २८ देखि अनिवार्य अवकाशमा जाँदै छन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । यसअघि कात्तिक १६ मा एआइजी किरण राना र कात्तिक १७ मा अर्का एआइजी रामदत्त जोशी पनि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका थिए । उनीहरूको स्थानमा बढुवाका लागि पनि केही विचौलियाहरू बाबुरामकहाँ पुगेर आइजिपीलाई भेट्न थालेका छन् ।

आउँदो पुस १६ मा अर्का एआइजी किरण बज्राचार्य पनि अनिवार्य अवकाशमा जाँदै छिन् भने मङ्सिर ३० मा डिआइजी अर्जनचन्द ठकुरी अनिवाउै अवकाशमा गाएका छन । पुस १४ मा भरतबहादुर बोहरा पनि ५६ वर्षे उमेरहदकै कारण अनिवार्य अवकाशमा जाँदै छन् । यसरी एकपछि अर्को गर्दै आइजिपीका ब्याचीहरू घर जाँदै गर्दा उनी पद लम्ब्याउने गरी ऐन ल्याउन लागिपरेका थिए । तर समयमै संसद् आह्वान हुन नसक्दा ऐन चाँडै आउने सम्भावना निकै कमजोर बनिरहेको छ ।

उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरू सबै २०८१ चैतसम्म प्रहरी सेवामा रहन्थे । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरूको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ ।

अब खाली हुने एआइजीका लागि डिआइजीद्धय दूर्गा सिंह चन्द र बोहरा लागिपरेका छन् । बोहोरा चाँडै घर जाने छन् । पुसमै उनी घर जाने भएपछि उनका लागि आइजिपी पनि लविङ गरिरहेका छन् । उनलाई बढुवा गर्न उनले कुवेर कडायतलाई रोकिरहेका छन् । बोहोरा शेरबहादुर देउवाको पूर्वपिओसो पनि हुन् । प्रहरी नेतृत्वले बोहरालाई चाहिँ एआइजी बनाएर घर पठाउने पक्षमा छ ।

अर्को एक एआइजीमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी जनक भट्टराईको सम्भावना छ । अर्जुन चन्द पनि एआइजी हुने दौडमा थिए । तर सरकारले उनलाई एआइजी नबनाई घर पठाउदै छ । आइजिपीले भने एआइजी बनाउने आश्वासन दिएका थिए तर पूरा हुने सम्भावना निकै कमजोर बनेको छ ।

केदार ढकालको पद खाली भएपछि उनलाई बढुवा गर्ने तयारी गरिए पनि विवादित भएका कारण रोकिएको छ । ‘उहाँ बेलाबखत विवादमा आउनु भएको थियो, निजामती पनि उनको विपक्षमा छ’, स्रोतले भन्यो । गत वर्षको माघमा विमानस्थल अध्यागमन कार्यालयमा प्रहरी र निजामती कर्मचारीबिच झगडा हँदा उनी विवादमा आएका थिए । त्यसपछि उनले राजीनामा दिएको नाटक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्