Logo
Logo
टिप्पणी

अमेरिकी सहायकमन्त्रीको अपमान


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमणलाई पूरै छलेर गृहजिल्ला झापामा भ्यूटावर उद्घाटन गर्दै बिताएको घटनालाई नेपालको कूटनीतिक वृत्तमा चासो र चिन्ताका रूपमा लिइएको छ ।

नेपाल–अमेरिका बिचको ७७ वर्षको दौत्य सम्बन्धको इतिहासमा यसअघि नेपाल भ्रमणमा रहेका कुनै पनि अमेरिकी मन्त्रीले नेपालका प्रधानमन्त्रीबाट यस्तो बेवास्तापूर्ण व्यवहार भोगेका थिएनन् ।

अमेरिकी दुताबासका अनुसार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण निश्चित थियो । उनको भ्रमणको जानकारी औपचारिक च्यानलबाट प्रधानमन्त्रीको कार्यालयमा पनि पुगेको थियो । दूतावासले सहायकमन्त्री लुले उनको कार्यकालमा नेपालका प्रधानमन्त्री रहेका बर्तमान प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम पनि सार्वजनिक गरेको थियो ।

तर, एकाएक ओली डोनाल्ड लुलाई नभेट्ने भन्दै झापातिर लागे । त्यसपछि दूतावासले देउवा र प्रचण्डलाई भेट्ने उनको कार्यक्रम सूचीबाट हटाए पनि लुले देउवा र प्रचण्डलाई भेटे । प्रधानमन्त्री ओलीको यो रवैयालाई कसैले पनि उचित ठानेका छैनन् ।

डोनाल्ड लु अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने बाइडेन प्रशासनका एक प्रभावशाली मन्त्री हुन् । राष्ट्रपति बाइडेनको कार्यकालसँगै आफ्नो कार्यकाल सकिने भएपछि उनी आफ्नो क्षेत्रका देशहरूको बिदाइ भेटका लागि दक्षिण एसियाका अन्य देश हुँदै नेपाल आएका थिए ।

प्रधानमन्त्री ओलीको रवैयालाई लिएर कूटनीतिक वृत्तमा आलोचना भएको छ । भारतका लागि नेपालका एक पूर्वराजदूतले भने, ’चीनमा बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गराएर नेपाल फर्केका ओलीले नयाँ दिल्ली हुँदै नेपाल आएका डोनाल्ड लुलाई बेवास्ता गर्नु भारत र अमेरिकासँगको सम्बन्ध अरू बिगार्नु हो । डोनाल्ड लु त जनवरी १९ पछि जालान् तर उनका अनन्य मित्र जयशंकर त अरू चार वर्ष भारतको विदेशमन्त्री हुन्छन् । उनले यसलाई सहज घटनाका रूपमा लेलान् भन्ने लाग्दैन ?’

जनवरी १९ मा सहायक मन्त्री लुको कार्यकाल सकिए पनि अमेरिकी विदेश मन्त्रालयमा उनको भ्रमण नोट एक दस्तावेजका रूपमा रहन्छ । त्यसले नेपालका प्रधानमन्त्री ओलीले अमेरिकाका सहायक विदेशमन्त्रीलाई गरेको एक गैरकूटनीतिक व्यवहारको साक्षी बोकिरहनेछ । निश्चिय पनि यो घटना नेपाल–अमेरिका सम्बन्धको इतिहासमै एउटा कालो घटनाका रूपमा दर्ज हुनेछ ।

आखिर किन ओलीले डोनाल्ड लुलाई भेटेनन् ? नेपालका लागि एक अमेरिकी पूर्वराजदूत भन्छन्, ‘यसका दुई तीनवटा कारण हुन सक्लान् । पहिलो त, ओलीले केही दिन अघि मात्र डोनाल्ड ट्रम्पका खास व्यक्ति एलन मस्कसँग भर्चुअल कुराकानी गरेको सुनेको थिएँ । उनलाई लाग्यो होला, बाइडेनका मन्त्रीलाई भेट्दा उनीसँग नजिक हुन सकिदैन । दोस्रो, उनलाई भर्खरै चीनसँग बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेर आएकाले लुलाई भेट्दा नकारात्मक प्रभाव पर्ला कि भन्ने पनि लागेको हुन सक्छ । तेस्रो, उनलाई डोनाल्ड लू जनवरी १९ पछि निस्किन्छन् । अब उनको के काम भन्ने लागेको हुन् सक्छ ?’

उनले अगाडि थपे, ‘प्रधानमन्त्री ओलीलाई जे जे लागे पनि यो नेपाल र अमेरिकी सम्बन्धकै इतिहासमै यो एक कालो दाग नै हो । उनले के बुझ्न जरूरी छ भने, अमेरिकी प्रशासनमा कोही आउन र जान सक्छ । तर, अमेरिकी दूतावास र अमेरिकी विदेश विभाग उही हुन्छन् । अनि, त्यहाँको डकुमेन्टेसन प्रणालीमा मन्त्रीको भ्रमण नोट पनि कहिल्यै मेटिदैन ।’

प्रतिक्रिया दिनुहोस्