Logo
Logo

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न


630
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०-८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

समीक्षा वर्ष २०८०-८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

समग्रमा आ.व. २०८०-८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो । त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ। बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए ।

नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, शेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ । यसले ’क’ वर्गका बैंकहरूमध्ये नबिल बैंकले नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा आफ्नो पहिचानलाई निरन्तरता दिन सफल भएको देखिन्छ ।

बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ, जसले यसको उत्कृष्टता र समर्पणलाई प्रमाणित गरेको संकेत गर्छ । बैंकले गत वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मानहरू पनि प्राप्त गरेको छ ।

त्यस्तै गरि नबिल बैंकले यो वर्ष आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । यो सहित बैंकले वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ आठौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।

चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

नबिल बैंक परिवारले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्