काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत असारको तुलनामा यो साढे १० प्रतिशतले बढेको हो ।
०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनालाई आयात धान्न पुग्नेबराबर विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ ।