काठमाडौं, २७ जेठ ।
कोरोना नियन्त्रण र उपचारमा असक्षम देखिएको स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार भने माफियाको कब्जामा छ । स्वास्थ्यका ठूला खरिदमा अहिले पनि ओम्नी समूहकै कब्जा रहेको छ ।
दुई महिनासम्म टेण्डर प्रक्रिया अघि नबढाई मन्त्रालयले लकडाउन सुरु भएपछि सो कम्पनीसँग सिधैं स्वास्थ्य सामाग्री खरिद गरेपछि विवाद भएको थियो । जसमा अनियमितता भएको खुलेपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको थियो ।
सम्झौता रद्द गरेपनि अहिले पनि मन्त्रालयमा ओम्नी समुहकै प्रभावमा छ । सोही समूहले अन्य कम्पनीमार्फत अहिले स्वास्थ्य सामाग्री बिक्रि गरिरहेको छ ।
त्यसमा अवरोध गरेपछि गत साता स्वास्थ्यका उच्च अधिकारीको सरुवा गरिएको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ तथा व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई हटाइएको थियो । महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह तथा महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिइएको छ ।
प्रवक्ताका रुपमा राम्रो काम गरिरहेका डा विकास देवकोटालाई समेत सरुवा गरेर डा जागेश्वर गौतमलाई जिम्मेवारी दिइएको छ । गौतम विवादास्पद पृष्ठभुमीका भएका कर्मचारी हुन् ।
स्रोतका अनुसार ओम्नी समूहको भुक्तानी रोकेपछि विभागका महानिर्दशक लगायत कर्मचारीको सरुवा भएको हो । उच्च तहमा सेटिङ मिलाएर ओम्नी समूहले महंगोमा स्वास्थ्य सामाग्री बिक्रिको सम्झौता गरेको थियो । त्यसमा महानिर्देशक श्रेष्ठले सुरुदेखि नै आलोचना गरेपछि उनलाई हटाइएको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।
ओम्नीले प्रधानमन्त्री केपी शर्मा ओलीको टिमलाई हातमा लिएर यसरी स्वास्थ्य मन्त्रालयमा चलखेल गर्दै आएको छ ।