काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले आगामी २०८४ निर्वाचन एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । महासचिव भुसालले गठबन्धनबाट पार्टी नबन्ने र आन्दोलनबाटै पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् ।
पार्टीभित्र अनेक समस्या रहेको भन्दै महासचिव भुसालले ती समस्याको समाधान गर्न पार्टीको सिद्धान्त र कार्यक्रमलाई आन्दोलनका रूपमा जनतामाझ लैजानुपर्ने र आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्, ‘अव फेरि गठबन्धनका आधारमा चुनावमा जाने कुरा हामीले सोच्नै सक्दैनौँ । गठबन्धनका कारण नेपालको राजनीति बदनाम हुँदै गएको छ भने क्रान्तिकारी पार्टीलाई वैचारिक रूपमा भुत्ते बनाउँछ ।’
त्यस्तै, उनले पार्टीभित्र हताश, अन्योल, पलायन र निष्क्रियताजस्ता प्रवृत्ति देखिएको बताएका छन् । उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका कतिपय नेता कार्यकर्तामा एमालेसँग नजिक हुन खोज्ने र कतिपयमा माओवादीसँग नजिकिने प्रवृत्ति बढेको उल्लेख छ ।
‘महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्नुपर्ने थियो त्यो हुन सकेन । त्यसका लागि विभिन्न कारणहरू जिम्मेवार छन् । तर जेसुकै भए पनि त्यो कमजोरी नै हो । अहिले पार्टीमा अनेकौँ प्रकारका समस्या छन् । निराशा,हताश,अन्योल र निष्क्रियताजस्ता प्रवृत्तिहरू देखिएका छन् । जसले गर्दा कतिपयमा नेकपा एमालेसँग सामीप्यता खोज्ने,अरू कतिपयमा नेकपा माओवादीसँग नजिकिन खोज्ने र आमरुपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् । पार्टी पङ्क्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन । यो तितो वास्तविकतालाई बिना हिच्किचाहट स्वीकार गरौँ र अगाडि बढौँ’, महासचिव भुसालको प्रतिवेदनमा भनिएको छ ।