रंगमञ्चमार्फत फिल्मी दुनियाँमा प्रवेश गर्नेको अहिले लर्को छ । रंगमञ्चबाटै उदाएका दयाहाङ राई, विजयी बराल, मेनुका प्रधान, दिया मास्केलगायतका कलाकार फिल्म क्षेत्रमा ‘टप लिस्ट’मा पर्छन् । एक किसिमले भन्ने हो भने, पछिल्लो समय रंगमञ्चबाट उदाएका कलाकारले फिल्मी दुनियाँ रिजर्भ गरिरहेका छन् ।
यस्तै, सिर्जना अधिकारीले रंगमञ्चमा करिब दुई दशक बिताइसकेकी छन् । तर, उनलाई अझै रंगमञ्चको धित् मरेको छैन । उनी भन्छिन्, ‘मलाई रंगमञ्च नै प्यारो लाग्छ ।’ नाट्यकर्मी अनुप बरालको थिएटर ‘एक्टर स्टुडियो’मार्फत रंगमञ्चमा उदाएकी सिर्जनाले करिब तीन दर्जन नाटकमा अभिनय गरिसकेकी छिन् । देश–विदेशमा रंगमञ्चमार्फत आफ्नो कला देखाइसकेकी सिर्जनाले केही विज्ञापन र म्युजिक भिडियोहरूमा पनि काम गर्दै आएकी छिन् । रंगकर्मी सिर्जना अधिकारीसँग रेजिना पाण्डेको जम्मकाभेट :
तपाईँको रंगमच्चको यात्रा कसरी सुरु भयो ?
सडक नाटकबाट मेरो रंगमञ्चको यात्रा सुरु भएको हो । सडक नाटक गदागर्दै नाटकप्रति आकर्षित भएँ । २०५६ सालतिरको कुरा हो, एसएलसी दिएपछि अनुप बरालको थिएटरमा एक्टिङ क्लासमा भर्ना भएँ । त्यसक्रममा नाटक सिक्दै गएँ, बुझदै गएँ । आजसम्म पनि यही क्षेत्रमा रमाइरहेकी छु ।
घरपरिवारबाट रंगमञ्चमा लाग्न सपोर्ट भयो ?
सुरुका दिनमा त गाह्रै भयो । तर, आफ्नो इच्छा र रहरका लागि मैले निकै कसरत गरेँ । मैले नाटक गर्दै गएपछि परिवारबाट पनि साथ पाउन थालेँ ।
रहरले रोज्नुभएको रंगमञ्च क्षेत्रमा काम गर्न कतिको सहज थियो ?
सुरुका दिनहरूमा परिवारबाट खासै सहयोग नभएकाले गाह्रो भएको थियो । जब अनुप बरालको ‘एक्टर्स स्टुडियो’मा सातौँ व्याजमा प्रवेश गर्ने मौका पाएँ, त्यहाँबाट राम्रो टेनिङ पनि पाएँ । र, नाटकमा काम पनि पाउँदै गएँ । त्यसपछि मलाई गाह्रो भएन ।
रंगमञ्च रोज्दा घरपरिवारको सुझाव के थियो ?
मलाई बाबाले सरकारी जागिर खाऊँ भन्नुहुन्थ्यो । बाबाले भनेको मानेको भए अहिले म सरकारी जागिरे हुन्थेँ । र, जागिर खाँदै नाटकको रहर पनि पुरा गर्थे होला । तर, एकोहोरो नाटकको भोकले मलाई अरु काम गर्न नै दिएन । अहिले ‘सरकारी जागिर खाएको भए कमसेकम लाईफ त सुरक्षित हुन्थ्यो भन्ने सोच्ने गरेकी छु ।
के नाटकमा भविष्य सुरक्षित छैन ?
यसै क्षेत्रमा भविष्य हुन्छ भन्ने मलाई खासै लाग्दैन । तर, सन्तोष लिनैपर्छ । कुनै बेला रगंगकर्मीको पनि दिन आउँछ ।
के सोचर रंगमञ्च रोज्नुभयो ?
रहर र इच्छाले यो क्षेत्रमा लागेकी हुँ । अहिले मेरो लागि रंगमञ्च साहस, उर्जा र कर्मथलो बनेको छ । मलाई अझै लाग्छ, यो क्षेत्रमा आनन्दले कर्म गर्न सक्छु ।
अनुप बरालको नाटक ‘मलामी’देखि विजय कार्कीको नाटकसम्म आइपुग्दा के कस्ता अनुभव भयो ?
एकदम आनन्दको अनुभव भयो । किनकि, मेरो मनदेखि गर्न लागेको काम नै नाटक हो । रहरले मलाई रंगमञ्चसम्म ल्याएको हो । नाटकको लागि मैले धेरै मिहेनत गरेकी छु । काम गर्दै जाँदा कति गाली खाएँ होला, कति ठाउँमा ताली पनि पाएँ होला । आजभन्दा भोलि झन् राम्रो गरौँ भन्ने इच्छा सधैँ लागिरहन्छ ।
रंगमञ्चमा तपाईँको मनपर्ने व्यक्ति को हो ?
निशा शर्मा, सुनिल पोखरेल र अनुप बराल । जसको नाटकले म निकै हौसिन्छु । उहाँहरूकै प्रेरणाले आज म यो क्षेत्रमा छु ।
अहिले नाटक हेर्नेको क्रेज कस्तो छ ?
पछिल्लो समय नाटकप्रति रुचि राख्नेहरूको संख्या बढेको छ । एक समय अलि सुस्त थियो । तर, अहिले नाटकमा एक किसिमको क्रेज देखिएको छ । त्यो थिएटरमा नाटक हेर्नेको भिडले पनि बताउँछ ।
अहिले धेरैजसो रंगमञ्चका कलाकार फिल्मतिर आइरहेका छन् नि ?
एउटा अब्बल कलाकारले जतापनि काम गर्न सक्छ । रंगमञ्चबाट आएका कलाकारहरू निखारिएका र माजिएका हुन्छन् । त्यसैले पनि फिल्म क्षेत्रमा उनीहरूको उपस्थिति राम्रो छ ।
अभिनय गर्न सजिलो कि निर्देशन ?
निर्देशनभन्दा अभिनय गर्न नै सजिलो हो । जबकि, कलाकारले आफनो भूमिकामा मात्र फोकस गरेको हुन्छ । तर, निर्देशन भनेको सानो कुरा होइन, सम्पूर्ण टिमदेखि व्यवस्थापनसम्म हेर्नुपर्ने हुन्छ ।
एउटा नाटक गर्दा पारिश्रमिक कति लिनुहुन्छ ?
यति नै भन्ने छैन । नाटकअनुसार चित्त बुझाएर काम गर्छु । अहिलेसम्म गरेका कामबाट सन्तुष्ट छु ।
रंगमञ्चबाहेक अरू के गर्नुहुन्छ ?
नाटकबाहेक म विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गर्छु । मैले तीन दर्जनभन्दा बढी विज्ञापनहरूमा मोडलिङ गरेकी छु ।
वेव सिरिजतिर काम गर्ने रुचि छैन ?
अहिले डिजिटलको मार्केट छ । अर्को कुरा आफ्नो प्रतिभा देखाउने सजिलो ठाउँ हो वेब सिरिज । त्यसैले मलाई पनि रहर लागेको छ ।
भविष्यको योजना के छ ?
रंगमञ्च क्षेत्रमै काम गर्ने इच्छा छ । नाटक निर्देशन गर्ने सोच पनि बनाएकी छु ।