Logo
Logo

गिरीबन्धु प्रकरणबारे निष्पक्ष छानबिन गराउन ओली तयार हुनुपर्छ : वर्षमान पुन

'ओली सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ कांग्रेसका नेता जोगाउन लागे'


1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको गिरीबन्धुसहित प्रकरणबारे निष्पक्ष छानबिन गराउन तयार हुनुपर्ने बताएका छन् ।

ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्घाटन गर्दै पुनले प्रचण्डले प्रधानमन्त्री भएका बेला आफ्ना पार्टीका नेता, परिवारका मानिस वा आफू स्वयं अनियमितता र राज्य दोहनमा संलग्न भएको भेटिए छानबिन गर्न प्रहरी नेतृत्वलाई खुला रुपमा अपिल गरेको भन्दै पुनले त्यस्तो आँट गर्न ओलीलाई चुनौती दिए ।

दायाँबायाँ भ्रष्टाचार, राज्य दोहन र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मन्त्रीहरु राखेर ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्ने गफ दिइरहेको भन्दै उनले जनताले ओलीको कुरा पत्याउन छाडेको बताए ।

उनले थपे, ‘प्रधानमन्त्री, मन्त्री हामी पनि भएका हौं । राज्य संयन्त्र र प्रहरी चलाएको अनुभव हामीसँग पनि छ । हामी कुनै दिन फेरि पनि चलाउँछौं । प्रतिपक्षी दलका नेतालाई आधारहीन आरोप लगाएर, राज्य सत्ताको दुरुपयोग गरेर ठीक लगाउन सक्छु भन्ने नठाने हुन्छ । किनकि जनताले बुझेका छन् । सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्ने काम नगर्नुस् ।’

उनले सहकारी ठगी प्रकरणमा आफ्नो दल र सत्तारुढ कांग्रेसका नेता जोगाउन ओली लागेको आरोप लगाए । यो सरकार गठन भएपछि मुलुकमा भ्रष्टाचार, अनियमितात र राज्य दोहनका लागि मिलेमतो बढेर गएको उनले उल्लेख गरे ।

फरक प्रसंगमा पुनले आगामी २०८४ को निर्वाचनमा कांग्रेस र एमालेले आफूहरुविरुद्ध चुनाबी गठबन्धन गर्ने तयारी गरेको उल्लेख गरे । त्यसको मुकाबिला गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा कांग्रेस–एमाले गठबन्धनलाई आफ्नो दलका उम्मेदवारले हराएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्