काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले पुस महिनाका मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । आइतबार सार्वजनिक ब्याजदरअनुसार १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिँदा तीन वाणिज्य बैंकले थोरैले ब्याज बढाएका छन् भने बाँकी तीन बैंकले घटाएका छन् ।
मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिनेहरुमा लक्ष्मी सनराइज, सिटिजन्स, ग्लोबल आईएमई, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबीआई, एभरेस्ट, राष्ट्रिय वाणिज्य, प्रभु, स्टान्डर्ड चाटर्ड, नेपाल इन्भेस्टमेन्ट मेघा र हिमालयन बैंक रहेका छन् ।
त्यस्तै पुस महिनाका लागि एनएमबी, प्राइम कमर्सियल र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन् ।
नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१ प्रतिशतले ब्याज घटाएर ६.०५ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
यस्तै कृषि विकास बैंकले भने ०.०३३ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.५३ प्रतिशत कायम गर्दा प्राइम कमर्सियल बैंकले ०.५ प्रतिशतले बढाएर ६.२५ प्रतिशत र एनएमबी बैंकले १.०३ प्रतिशत ब्याज बढाएर ६.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।