काठमाडौं । राजविराज विमानस्थलमा भोलिदेखि रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान गरेपछि रात्रिकालीन उडान हुने भएको हो ।
इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्ने प्रविधि हो । सो प्रणाली जडान गरिएपछि पुस १ देखि विमानस्थलमा रात्रिकालीन उडान हुने प्राधिकरणले जनाएको छ ।
बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरूसहितको उडान गरेको थियो । उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान गरिन्थ्यो ।