काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ । घटनास्थल नजिकै श्रीमानसँग क्षमा मागेको सुसाइड नोट भेटिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारका अनुसार आचार्यले आफ्नै कारण आत्मदाह गरेको सुसाइड नोटमा उल्लेख गरेकी छन् ।
उनले नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गर्दै आइरहेका छन् । नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन । म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’
चितवन घर भएकी उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । शनिबार दिउँसो १२ बजेको समय कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएकी थिइन् । आचार्यको उपचारको क्रममा मृत्यु भएको छ । आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।