Logo
Logo

आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउने खनालको प्रस्ताव (पूर्णपाठ)

'समाजवादी मोर्चा बनाउन गरिएको प्रयत्न अपरिपक्व'


2.5k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ शीर्षकको प्रस्तावमा पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुई जना पार्टी सदस्य बनाउनुपर्ने भनाइ छ ।

खनालको प्रस्तावमा भनिएको छ, ‘एक वर्षभित्रमा पार्टीको सदस्यता सङ्ख्या दोब्बर भन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको सङ्ख्या कम्तीमा ४ लाख ५० हजार पुर्‍याउन सकिन्छ ।’

उनले यो विकास र विस्तार क्रान्तिकारी विकास र विस्तार हुने भन्दै हर स्तरका पार्टी कमिटीहरूले यो दायित्व बहन गर्ने सङ्कल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, उनले विभाजित कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा ‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्नलाई अपरिपक्व प्रयासको संज्ञा दिएका छन् । नेता खनालले विभिन्न समूहमा विभक्त वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा बाम एकता निर्माण गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको समेत बताएका छन् ।

‘यी विभाजित बाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि “समाजवादी मोर्चा” बनाउने प्रयत्न पनि देखापर्‍यो’, खनालको प्रस्तावमा भनिएको छ, ‘त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन ।’

समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने खनालको जोड छ । नेता खनालले भनेका छन्, ‘कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ । त्यसैले यतिबेला “समाजवादी मोर्चा” बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्व भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्