काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा एमालेले यही मङ्सिर सात गते काठमाडौंको शक्ति प्रदर्शन ग¥यो । जागरणसभा नाम दिइएको उक्त सभा एमालले अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दाबी गरेपनि मुख्य उद्देश्य विपक्ष दलहरूलाई शक्ति देखाउनु थियो । विपक्षीहरूले सरकार अस्वाभाविक रूपमा बनेको, भ्रष्टाचारीलाई संरक्षण गरेको र राजनीतिक प्रतिशोध साधेर सहकारी प्रकरणमा काम गरेको आरोप लगाउँदै आएका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध १० कात्तिकमा काठमाडौंमा खबरदारी सभाका नाममा शक्ति प्रदर्शन गरेको थियो । अर्को विपक्षी दल रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पूर्वाग्रह राखेर हिरासतमा लिएको विरोधमा सरकारविरुद्ध प्रदर्शनमै छ ।
विपक्षी दुई दलले भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाएपछि एमाले उस्तै शैलीमा प्रस्टीकरण दिन सभा गरेको थियो । सभा मार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले नागरिकमा आशा जगाउने नभएर प्रस्टोक्ति दिन समय खर्चिए ।
ओलीले भ्रष्टाचारका प्रकरणहरूमा एमालेतिर औँला नउठाउन चेतावनी पनि दिए । ‘भ्रममा पर्दैनन् जनता, जनताले देखेको छ कसले कति कमाएको छ, कसले कति कमाएको छैन,’ उनले चुनौती दिए, ‘विभिन्न पार्टीका साथीहरूलाई भन्नु चाहन्छु, तपाईँहरू एमालेतिर औँला ठड्याएर बोलिरहनुभएको छ, तपाईँहरू के साँच्चै बहस गर्न सक्नु हुन्छ एमालेसँग ?’
जागरणसभाको अर्को उद्देश्य एमाले नेतृत्वसँग जोडेर प्रचार गरिएको काण्डहरूबारे प्रस्टाउनु रहेको देखियो । यति, ओम्नी, गिरीबन्धु हुँदै कम्बोडियामा लगानीसम्मका प्रचारको अध्यक्ष ओली र महासचिव पोखरेलले प्रस्ट्याउन खोजेका थिए । भ्रष्टाचार भनेर प्रचार गरिएका कुनै पनि मुद्दामा एमाले नेताहरूको गल्ती नरहेको ओली र महासचिव पोखरेलले जिकिर गरे ।
विशेष गरी कम्बोडियाको टेलिकमसँग जोडेर भइरहेको प्रचारको खण्डनमा ओली र पोखरेलले समय खर्चिए । ‘त्यहाँ लगानी भएको प्रमाणित गरे, थपेर दोब्बर दान दिने भनिसक्नु (केपी ओलीले) भएको छ,’ महासचिव पोखरेलले भनेका थिए ।
जागरणसभाको नाममा बचाउ सभा गरेको एमालेलाई स्थानीय तहको उपनिर्वाचनले अर्को झड्का लाग्यो । गत मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनले नेकपा एमालेलाई तेस्रो स्थानमा दिलायो । यो नतिजाले नेकपा एमाले आत्तिएको छ । सोचे अनुसारको नतिजा नआएको एमालेको निष्कर्ष छ ।
पहिले नै आंकलन गरेर पनि राम्रो परिणाम आउने आंकलन पार्टीले गरको तर अपेक्षित नतिजा नआएको प्रतिवेदनमा भनिएको छ । ‘घेराबन्दीका बाबजुद पनि राम्रो परिणाम आउँछ भन्ने थियो। तर पनि सोचे अनुसारको परिणाम आउन सकेन’, प्रतिवेदनमा लेखिएको छ, ‘गठबन्धन, घात(अन्तर्घात उम्मेदवार छनोट, पार्टीका नेता कार्यकर्ताको परिचालन चुस्तदुरुस्त नहुनु र सरकारी पक्षबाट भएको धाधली पनि निर्वाचनमा अपेक्षित नतिजा नआएको हो।’
यहीबेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौतापछि सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूले विभिन्न आशङ्का व्यक्त गरेपछि एमाले झस्कियो । यता कोशी प्रदेशमा पहिचानवादीहरूको आन्दोलन जारी नै छ । पहिचानवादीहरूको निशानामा पनि एमाले नै परेको छ ।
हाल केन्द्र सरकारमा संसदको सबैभन्दा ठूलो दल काँग्रेस र दोस्रो ठूलो दल एमालेको गठबन्धन छ । यही अवस्थामा भएको भएको उपनिर्वाचनमा नेकपा एमाले तेस्रो पोजिशनमा झर्दा सत्ताकै नेतृत्व कर्ता दल कमजोर भइरहेको भाष्य स्थापित भइरहेको देखिन्छ । एमाले कमजोर हुँदै गएको संकेत देखिन थालेपछि पार्टीभित्र देखिएका गल्ती, कमजोरीलाई स्वीकार गरेर आउँदा दिनमा सुधार गर्न ध्यान केन्द्रित गरिनुपर्नेमा एमाले नेताहरूले जोड दिन थालेका छन् ।
यसैगरी गत असोजमा बाढी पहिरोको कहरमा मुलुक पर्दा काम गर्न नसकेपछि पनि ओली सरकार आलोचित बनेको थियो । यस्ता थुप्रै कारण एमालेको शक्ति घट्दै गएको विश्लेषण हुन थालेको छ । यद्यपि, दलको शक्ति जाँच्ने भएको आमनिर्वाचनले नै हो । एमालेको शक्ति पनि आगामी निर्वाचनले नै निर्धारण गर्नेछ ।