काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढिरहेको छ । उच्च पहाडि र हिमाली भेगमा बाक्लो हिमपात सुरु भएको छ । दैनिकी जीवन प्रभावित हुन थालेको छ ।
यस्तो बेलामा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । सही हेरविचार पु¥याउन सकिएन भने बिरामी पर्ने संभावना रहन्छ । चिसोबाट बच्न तातो र झोलिलो खाना खाने, न्यानो लुगा लगाउने, सुत्ने कोठालाई तातो बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
चिसोबाट बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्छन । त्यसैले उनीहरुको विशेष हेरचाह गर्नुपर्छ । चिसोबाट बच्न अधिकांश मानिसले आगो ताप्ने, हिटर वा कोइला बाल्ने गर्छन् । यिनीहरुको प्रयोग गर्दा सावधानी अपनाउन भने बिर्सनु हुँदैन ।
सानो लापरवाहीले ज्यान जान समेत बेर लाग्दैन । त्यसैले यस्ता जाडोका सहयोगी तर उपयोग गर्न नजान्दा ज्यानै लिने उपकरणको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ ।
आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै राख्नु् हुँदैन । आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाइदिनुपर्छ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्र्ने लगायतका उपायहरु गरिएपनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् ।
कसरी सावधानी अपनाउने ?
हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।
कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।
आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौं ।
आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।
सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।
गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं ।
गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं ।