काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) पद रिक्त भएको छ । ५६ वर्षे उमेर हद पुरा गरी अर्जुन चन्द आजबाट अवकाशमा गएसँगै डीआईजीको तीनवटा दरबन्दी रिक्त भएको हो । उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।
यसअघि २८ मंसिरमा डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका थिए । उनीहरुको स्थानमा पनि बढुवा गर्न बाँकी नै छ ।
तर, सरकारले तत्कालै डीआईजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ । अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ ५ जना डीआईजी बढुवा गर्ने तयारी सरकारको छ ।
हालै मात्रै एआईजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन् । काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन् । उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन् ।
त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ । अनि, एकसाथ ५ जना डीआईजीमा बढुवा गर्ने सरकारको तयारी छ । आकांक्षीहरु धेरै भएकाले कोटा थपिएपछि एकसाथ बढुवा गर्ने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।