Logo
Logo

अनिताले ल्याइन् ‘साइनो’, गरिबको आँसुको जगमा हुने विकासमा प्रहार (भिडियो)


630
Shares

काठमाडौं । मौलिक फिल्मले धारावाहिक टेलिश्रृङ्खला ‘साइनो’ ल्याएको छ । कलाकार समेत रहेकी अनिता बस्नेत (मास्टर्नी)को निर्देशन तथा लेखन रहेको यस टेलिश्रृङ्खलामा गाउँघरको परिवेश समेटिएको छ ।

बस्नेतकै निर्देशन तथा लेखन रहेको सामाजिक टेलिश्रृङ्खला ‘मितिनी’को प्रसारण रोकिएपछि उनी अर्को सामाजिक टेलिश्रृङ्खला ‘साइनो’ लिएर आएका हुन् । ‘हल्का रमाइलो’मा राजु मास्टरकी श्रीमतीको भूमिकामा रुचाइएकी बस्नेतले ‘साइनो’मा पनि अभिनय गरेकी छन् । श्यामकी श्रीमती राधाको भूमिकामा रहेकी बस्नेतलाई एक असल बुहारीको रुपमा प्रस्तुत गरिएको छ । 

बस्नेतले कमेडी टेलिश्रृङ्खला ‘मेरी बास्सै’, ‘हर्के हल्दार’, ‘हल्का रमाइलो’, ‘हामी यस्तै त हो नि ब्रो’ र सामाजिक टेलिश्रृङ्खला ‘सकस’जस्ता चर्चित सिरियलमा अभिनय गरिसकेकी छन् । यसको साथै उनले थुप्रै म्युजिक भिडियोमा अभियान गर्नुको साथै निर्देशन पनि गरेकी छन् । 

‘साइनो’ टेलिश्रृङ्खलामा बस्नेतसँगै अग्रज कलाकार लक्ष्मी गिरी र कृष्ण सिवाकोटीको पनि अभिनय रहेको छ । त्यस्तै किशोर भण्डारी, केशव सापकोटा, सरिता भण्डारी, रचना पौडेल, एकिन्द्र सारा शंकर, राजन कोइराला, शिवजी कार्की, सक्षम पुडासैनी, रविन कार्की प्रवेश पोखरेल, सुरेश श्रेष्ठलगायतले पनि यस टेलिश्रृङ्खलामा अभियान गरेका छन् । 

रविन कार्कीको कथा रहेको यस टेलिश्रृङ्खलामा परिवारभित्रको संवेदना, गाउँको विकास र राजनीतिक विषयवस्तु समेटिएको छ । विकासको नाममा सिधा-सोझा जनता कसरी राजनीतिक चक्रव्यूहमा फस्छन् भन्ने टेलिश्रृङ्खलामा देखाइएको छ ।

त्यस्तै विकास आम जनताको लागि नभई ठुलाबडा र टाठोबाठोको लागि मात्रै हुने, भौगोलिक कठिनता, राजनीतिक खिचातानी, दीर्घकालीन सोचको अभाव र प्राविधिक ज्ञानको कमीले ग्रामीण विकासमा पारेको असरबारे देखाइएको छ ।

त्यसैगरी जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायित्वका साथ निःस्वार्थ ढंगले काम नगर्दा सोझा जनताको उठिबास कसरी लाग्छ ? र विकासको खोल ओडेर गरिब जनतामाथि शासकले गर्ने व्यवहारलाई प्रस्ट्याइएको छ । 

यस टेलिश्रृङ्खलाले विकासको नाममा गरिब जनतामाथि ज्यादती गरेर प्रताडित बनाउनु कदापि समाजवाद उन्मुख र न्यायिक राज्य हुन सक्दैन भन्ने सन्देश दिएको छ । गरिबको पीडा र आँसुको जगमा बनेको विकासको केही हुँदैन भन्ने वकालत गरेको छ । 

टेलिश्रृङ्खला हरेक शुक्रबार बेलुका ७ः३० बजे अनिता बस्नेत नामक युट्युब च्यानलबाट प्रसारण हुनेछ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्