Logo
Logo

पूर्वीनाकामा सशस्त्रको लुटधन्दा


5.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी राजु अर्याललाई आफ्नै व्याचीले धोका दिएको चर्चा छ । औषधिमा धेरै खर्च हुने भयो एउटा कमाण्ड जसरी पनि जानुप¥यो भन्दै कोशी प्रदेशको कमाण्ड गर्न पुगेका डिआइजी शम्भु सुवेदीले पूर्वीनाकाका जिल्लालाई तस्करीको हब बनाएर आइजीपी अर्याललाई धोका दिएका हुन् । ‘तलबले औषधि खान पुगेन भन्दै हेडक्वार्टरमा हल्लीरहेका बेला डिआइजी शम्भु सुवेदीलाई बाहिनीपति बनाइएको थियो अहिले उनकै निर्देशनमा पूर्वी क्षेत्र तस्करीको हब बन्यो’, सशस्त्र मुख्यालयका एक अधिकृतले भने ।

झापामा इलाममा उनकै घुमुवाहरु खटिएका छन् । खासगरी इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट खुलामखुला चोरी तस्करीमा उनका घुमुवाहरुले साथ दिइरहेको स्रोतको दावी छ । मोरङको पूर्वी नाका हुँदै भारतदेखि अवैधरुपमा खुलेआम तस्करी हुने गरेको पाइएको छ ।

खुला सीमाको फाइदा उठाउँदै रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको हो । मोरङमा डिआइजीकै कार्यालयबाट तस्करी रोक्ने भन्दै आएका घुमुवाले पैसा असुल्दा पनि हामीले केही गर्ने अवस्था छैन’, मोरङको सीमा क्षेत्र रंगेलीमा खटिएका एक सशस्त्र प्रहरी अधिकृतले भने । ती अधिकृतका अनुसार अघिल्लो अञ्जनीकुमार पोखरेलभन्दा धेरै गुणाले असुली धन्दा सुवेदीले बढाएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीबाट कुनै पनि निगरानी नहुँदा तस्करी बढेको स्थानीयहरुले बताएका छन् । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी मूख्यालय बराहा बाहिनी (पोकली, सुनसरी)का प्रमुख डिआइजी सुवेदीको निर्दैशनमा मोरङमा सबैभन्दा बढी तस्करी बढेको हो । सीमाक्षेत्रबाट तस्करी बढेपछि मोरङका भित्री बजार सुनसान भएका छन् ।

सुनसरी झापा र इलामका प्रमुख नाका खुला भएका छन् । खासगरी डिआइजी सुवेदी आफै रातीको समयमा अनुगमन भन्दै नाका खोल्न आफै पुग्ने गर्छन । उनी हरेक दिनजसो कुनै न कुनै नाकामा पुग्ने गरेको त्यहाँ कार्यरत सशस्त्र प्रहरीका अधिकृतहरुले बताएका छन् । तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि चिनी र खाद्यवस्तु धनापट्टीमा ल्याएर राखेका गरेको अवस्थामा धेरै पटक फेला परेको भएपनि सशस्त्र प्रहरीका स्थानीय अधिकारीहरुले डिआजीको आदेश भन्दै छाडिदिने गरेका छन् ।

‘तस्करले ट्रकमाथि धानको भुस राखेका थिए भने त्यसको मुनि चिनी र खाद्यवस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने ‘तर तुरुन्तै डिआइजीको फोन आयो बरामद गर्न सकिएन ।’ रंगेलीको चोपडा नाकादेखि ट्रयाक्टरबाट हरियो मटर भारतर्फ हरियो मोटर तस्करी हुने गरेको छ । रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौं रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ । नेपालदेखि उक्त नाका हुँदै चौपाय तस्करी गरी भारततिर लाने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीयका अनुसार नेपाल–भारत सीमा नाका खैरवनामा जयप्रकाश साह र शम्भु साहको काटा छ । मोरङको अन्तिम नाका रतुवामाई नगरपालिको दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यवस्तु र चिनी तस्करी हुने गरेको छ । आमतोला बजारमा घर भएका क्यारिङ गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र बिहानीको समयमा भारतदेखि तस्करी गरी खाद्यवस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानीयहरु बताउँछन् ।

‘बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजको समयमा तस्करीमा लागेका क्यारिङ गर्नेले भरियालाई निश्चित रकम दिए एउटा मोटसाइकल र आटोमा उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारण गरी राख्दछन्,’ एक स्थानीयले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको सहरमा रहेको व्यापारीको पसलमा पु¥याउने गरेका छन् ।’ मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ गर्नेले पु¥याइदिने गरेका छन् ।

यसैगरी झापाको काकडभिट्टा तथा इलामको पशुपति नगर तस्करीको अर्को केन्द्र हो । डिआइजी सुवेदी अनुगमनका नाममा त्यहाँ पनि पुगेर मासिक किस्ता तोकेको स्रोतको दावी छ । ‘मलाई यहाँभन्दा माथि जानु छैन जति गर्नु अहिले नै हो भन्दै उनले सशस्त्र प्रहरीका अधिकृतहरुलाई महिनावरी भाग दिएका छन्’, बराह बाहिनीका एक अधिकृतले भने । झापाबाट हार्डवेयरका सामान नेपालतर्फ तस्करी हुन्छ भने नेपालबाट गिटी बालुवा, मरिच, सुपारी, गाइगोरु, मदिरा तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्